प्रतिनिधिसभा बैठक : आरोप-प्रत्यारोपमा सांसदहरु

0

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रमुख प्रतिपक्षी दलका सांसदले सरकारको चर्को आलोचना गरे भने सत्ता पक्षका सांसदले त्यसको बचाउ गरेका थिए ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने आरोप लगाए । थापाले जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान गर्ने काम बढ्दै जाने बताए ।

थापाले प्रधानमन्त्री ओलीले काम गर्न दिएन भनेर हल्लामात्रै मच्चाएको पनि बताए । एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने प्रधानमन्त्रीले संसदलाई एउटा पनि विधेयक नदिएकोमा आक्रोश पोखे । उनले विधेयकलाई काम गर्न चाहिने राष्ट्रियसभाको बैठक नबोलाएको आरोप पनि लगाए ।

‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ’, सांसद थापाले भने, ‘तर, हामी हाम्रो ठाउँबाट संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं ।’

सांसद दिलेन्द्रप्रसाद बडूले भारतले नेपाली भूमिलाई आफ्नो भूमिमा पार्ने गरी तटबन्ध निर्माण गर्दा राष्ट्रवादी सरकार के हेरेर बसेको भनी प्रश्न गरे । बडूले ३५ हेक्टर नेपाली भूमिमा भारततिर जान लागेको जानकारी दिए ।

‘यतिबेला सरकार के गरिरहेको छ ? सिडिओसावलाई सोध्दा नेपाल सरकार के गरिरहेको छ हामीले ढुङ्गा हानेर त हुँदैन भन्ने जवाफ दिनुहुन्छ’ उनले भने, ‘दार्चुलाकै गणेश ठगुन्नमा मन्त्री हुनुहुन्छ । उहाँहरुले पनि केही सुन्नु भएको छैन् । किन भनिरहनुभएको छैन् । किन सरकार मौन छ ? परराष्ट्र मन्त्रालयले कुनै जानकारी छैन भनेर अनविज्ञता जनाइरहेको छ । के हुँदैछ ? कसको सेवा हुँदैछ यो ? गाउँका गाउँ सखाप हुँदा पनि हामी बोल्दैनौं किन ?’

नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने भन्दै अविश्वास प्रस्तावमार्फत हटाउन चुनौती दिए । उनले अविश्वास प्रस्ताव ल्याउन नसक्नेले किन प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भनी प्रश्न गरे ।

‘नैतिकता त गज्जबको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? अविश्वासको प्रस्ताव ल्याउँछु भनेर फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’ उनले प्रश्न गरे ।

नेपाली कांग्रेसका सांसद जीप छिरिङ लामाले लिपुलेक कहिले फिर्ता आउँछ ? भनी सरकारलाई प्रश्न सोधे । उनले भने, ‘दार्चुलाको लिपुलेक भारतमा पर्यो भनेर सरकारले नक्सा पारित गर्‍यो । सबै राजनीतिक पार्टीले एकमतले पास गर्‍यो । सरकारले लोगो पनि माननीयलाई बाँड्यो । तर, जग्गा जमिन कहिले फिर्ता आउँछ ? जमिन अर्काको देशमा राख्ने अनि लोगो लगाएर हिड्ने ? लोगो मात्रै लगाएर हिड्ने कि जमिन फिर्ता आउँछ ?’

बैठकमा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गते अपराह्न १ बजे बस्नेछ ।

Leave A Reply

Your email address will not be published.