माधव नेपाल पक्षको राष्ट्रिय भेलाले पारित गर्‍यो १७ बुँदे प्रस्ताव

0

काठमाडौं : नेकपा (एमाले)को झलनाथ खनाल–माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । 

बुधबारबाट शुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेश गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

भेलाले ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका विभिन्न गतिविधिप्रति दुःख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । 

भेलाले संसद् पुनर्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत्ति जनाएको छ । पत्रकार सम्मेलनमा भट्टराईले देशभर संगठनात्मक अभियान चलाउने निर्णय भएको पनि जानकारी दिए ।  

उनले अध्यक्ष ओली पार्टी विभाजनमा लागेको भए पनि आफूहरुले अन्तिमसम्म एकता बचाईराख्न प्रयास गर्ने जानकारी दिए । आफूहरु ओलीले बोलाएको चैत ७ को बैठकमा नजाने भन्दै उनले बैठकमा सहभागिताका लागि फागुन २३ गतेपछिका निर्णय सच्‍याउनुपर्ने र जेठ २ गते अगाडि फर्कनुपर्ने सर्त रहेको पनि बताए ।

भेलाले ओलीले नेपालको हितप्रतिकूल निर्णय गरेको दाबी गर्दै सच्याउन तथा असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न माग गरेको छ । एमसीसी राष्ट्रिय हितअनुरुप हुनुपर्ने भेलाको निष्कर्ष छ । भेलाले देशलाई उचित निकास दिन राजनीतिक दलहरुसँग आह्वान, भ्रष्टाचारसम्बन्धी मुद्दाको छानविन गर्न पनि माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.