ओलीविरुद्ध नयाँ गठबन्धनको तयारीमा प्रमुख दलहरु, कांग्रेस, माओवादी र जसपाबीच छलफल हुँदै

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार गठनका लागि प्रमुख दलहरुले छलफल सुरु गर्ने भएका छन् ।

प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन अदालतले बदर गर्दा पनि सत्ता छाड्न नचाहेको भन्दै प्रमुख तीन दलले ओलीविरुद्ध मोर्चाबन्दी गर्न लागेका हुन् ।

नयाँ सत्ता समिकरणका लागि आज दिउसो नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा नेपालबीच पहिलोपल्ट संयुक्त छलफल हुँदैछ । तीनपार्टीको संयुक्त बैठक दिउसो कांग्रेस सभापति निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला बैठकमा सहभागी हुनेछन ।

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो सहभागी हुने बताइएको छ ।

यसअघि दुईपक्षीय छलफल मात्रै गर्दै आएका दलहरु एकै ठाँउमा बसेर राजनीतिक निकासका लागि परामर्श गर्न लागेका हुन । तीनवटै दल ओलीको विकल्पमा नयाँ सरकार गठन हुनुपर्ने कुरामा सकारात्मक देखिएका छन् ।

तर कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने लगायतका विषयमा भने आजवाट छलफल अघि बढने नेताहरुको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.