प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिए : प्रचण्ड

0

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताएका छन् ।

शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गरेका हुन् ।

कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई अहिले ओलीले साथ दिएको प्रचण्डले आरोप लगाए । ‘आफू जहाँबाट जन्मिएको हो त्यो धर्ती उनीहरुले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाई, विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधि जस्तो ठान्न पुग्छन् । अहिले तपाईंहरु हेर्नुभयो भने कताकता केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन्,’ प्रचण्डले भने ।

आफूलाई महाराजधिराज ठान्न थालेदेखि पार्टीको बैठकमा बस्न नपर्ने, आफ्नो आलोचना पनि नसुन्ने र आफूले भनेको कुरालाई ब्रम्हब्याख्याको रुपमा अरु सबैले मानिदिनुपर्ने प्रवृत्ति केपी ओलीमा देखिएको पनि प्रचण्डले बताए । उनले भने ‘बैठकमा बस्नपनि नपर्ने, आलोचना सुन्न नी नसक्ने, आफूले भनेपछि त्यो ब्रम्हव्याख्या जस्तो सबैले मानिदिनु नै पर्ने, नमान्ने मान्छे अगाडि देख्नै नहुने यो महाराजधिराजहरु कै चरित्र हो नी त ।’ 

आफू सत्तामा पुग्नका लागि जस्तो पनि सम्झौता गर्ने र सम्झौता भइसकेपछि कार्यान्वयन नगर्ने प्रवृति प्रधानमन्त्री ओलीमा रहेको पनि प्रचण्डले बताए । पार्टी एकता हुँदा भएका कुनैपनि सहमति प्रधानमन्त्री ओलीले नमानेको र आफुलाई महाराजधिराज जस्तो ठान्ने गरेको उनले बताए । 

प्रचण्डले कम्युनिष्ट पार्टीकै नेतृत्वबाट बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्री ओलीबाट निर्मम खालको प्रहार भएको पनि बताए । सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर केपी ओली लागेको पनि प्रचण्डले आरोप लगाए ।

प्रचण्डलाई उपयोग गरी माधव कुमार नेपाललाई निचोर्ने र प्रचण्डलाई पनि खिचिक्कै पार्छु भन्ने रणनीतिमा केपी ओली लागेको पनि उनले बताए । यो कुरा आफूले पार्टी एकता गरेको एक महिनामा नै बुझिसकेको पनि प्रचण्डले बताए ।

Leave A Reply

Your email address will not be published.