आज २६ औं जनयुद्ध दिवस मनाइँदै

0

काठमाडौं : तत्कालीन विद्रोही नेकपा माओवादी नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६ औं वर्षगाँठ मनाइँदैछ । २०५२ साल फागुन १ गते, अर्थात तत्कालीन माओवादीले सशस्त्र युद्ध थालेको दिनको स्मरणमा विभिन्न कार्यक्रम हुँदैछन् ।

दिवसका अवसरमा काठमाडौँमा पार्टी मुख्यालय पेरिसडाँडामा हुने कार्यक्रममा नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

२०५२ साल फागुन एक गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरि तत्कालिन माओबादीले सशस्त्र युद्धको घोषणा गरेका थिए ।

माओवादीको सशस्त्र यु्द्धमा १७ हजार मानिसको ज्यान गएको थियो भने हजारौं अंगभंग र अर्बौका भौतिक संरचना र सम्पत्ति ध्वस्त भएका थियो ।

२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो ।

शसस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । विद्रोहको समयमा एकै ठाँउमा रहेका माओवादी नेताहरु अहिले विभिजित अवस्थामा छन् ।

जनयुद्ध नेतृत्व गरेका नेता डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीमा छन् । मोहन वैद्यले नेकपा क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्दले छुट्टै नेकपा बनाएका छन् । केही नेता ओली नेतृत्वको नेकपामा छन् । दिवसलाई तत्कालीन नेकपा माओबादीबाट टुक्रेका अन्य पार्टीले पनि विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

Leave A Reply

Your email address will not be published.