निर्वाचनको तयारी नरोक्न आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।

मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीसँग करिब एक घण्टा छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको उनले बताए ।

थापाका अनुसार प्रधानमन्त्रीलाई आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुले जानकारी गराएका थिए । उनीहरुले आयोगको तयारी, सुरक्षा, बजेट लगायतका विषयमा जानकारी गराएका थिए ।

प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि आयोगको कार्यालय पुगेका थिए ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.