खुलायो तातोपानी-खाडीचौर सडकखण्ड

0

काठमाडौं, २१ साउन । पहिरोले अबरुद्ध अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी–खाडीचौर सडकखण्ड बिहीबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । नेपाली सेना र चीन सरकारको प्राविधिक सहयोगमा पाँच दिन लगाएर पहिरो हटाइएसँगै सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो । तातोपानी नाकामा फसेका सम्पूर्ण गाडी हटाएपछि मात्रै बाटो दुईतर्फी सञ्चालन गर्ने नेपाली सेनाले जनाएको छ ।
चिनियाँ टोलीले बाटो खोल्न १५ दिन लाग्ने जनाए पनि दुई देशको सक्रियतामा पाँच दिनमै एकतर्फी बाटो खोल्न सफल भएको हो । राजमार्गअन्तर्गत अझै केही स्थानमा भने काम जारी छ । तर ठूलो पहिरो भने हटाई सकिएको कोदारी प्रहरीले जनाएको छ । भूकम्पको कम्पनले चिरीएको पहाडमा पानी पस्दा गएको पहिरोले राजमार्गका दर्जनौं स्थानमा सडक अबरुद्ध बनेको थियो ।
गत बैशाख १२ गतेको भूकम्पले अवरुद्ध यो राजमार्ग चिनियाँ सहयोगमा खुलाएर यातायात सञ्चालन भए पनि गत बैसाख २९ गतेको भूकम्पपछि सडकमा झरेका ठूला–ठूला ढुंगाका कारण ठूला कन्टेनर आवतजावत गर्न सकेका थिएनन् । पहिरोका कारण नेपालमा सामान लिएर आउन लागेका सयौं कन्टेनर कोदारीमै फसेका छन् । कोदारी मार्ग खुले लगत्तै अव केरुङ नाका खुलाउने काम सुरु हुने नेपाली सेनाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.