चार महिनादेखि तामाकोसी आयोजनाको काम ठप्प

0

स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा भूकम्पबाट क्षति र त्यसपछि लगातार झरेका पहिराको आयोजना थप सङ्कटमा फसेको छ । भूकम्पबाट क्षति र पहिराका कारण काम गर्न नसकेपछि आयोजनाका कर्मचारी, ठेकेदार कम्पनी र मजदुरले यसअघि नै आयोजनास्थल छाडेर फर्केका छन् । आयोजनाका चारवटै विदेशी ठेकेदार कम्पनीले आफ्ना कामदार स्वदेश फर्काएपछि आयोजनास्थल यतिबेला सुनसान भएको छ ।
भूकम्पले आयोजनाका आठवटा भवन भत्काइदिएको छ । भूकम्पपछिको पहिरोमा आयोजनास्थलको सुरक्षार्थ खटिएको सैनिक शिविर पुरिनाका साथै शिविरको गोदाममा भण्डारण गरिएको एक हजार २०० केजी विस्फोटक पदार्थ पहिरोबाट क्षतिसमेत भएको थियो । सडक मार्गका कतिपय भाग निमिट्यान्न हुने गरी ध्वस्त भएका छन् ।
आयोजना कार्यालयको आसपासका सडक तामाकोसी नदीले कटान गरिरहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनुभयो । उहाँका अनुसार आयोजना कार्यालय आसपासमा अहिले पनि स–साना पहिरो चलिरहेको छ ।
भूकम्प र त्यसपछिको पहिराका कारण ठेकेदारहरुले कार्यस्थल छाडेपछि आयोजनामा तीन महिनादेखि काम ठप्प भएको छ । आयोजना कम्पनीले समेत आफ्ना कर्मचारीलाई राजधानीस्थित ज्ञानेश्वरमा रहेको कार्यालयमा केन्द्रीकृत गरेको छ । “साइटमा बस्न सकिने अवस्था नै छैन,” आयोजनाका प्रवक्ता न्यौपानेले भन्नुभयो – “दुवैतिर पहाडको खोंच र तामाकोसी नदी किनारमा आयोजनास्थल रहेका कारण पहिराका डरले त्यहाँ बसेर काम गर्ने वातावरण नै नभएपछि कर्मचारीलाई काठमाडाँै कार्यालयमा राखेर काम गराएका हौँ ।”
दोलखाको सिँगटीबाट करोडौँ खर्चेर आयोजनास्थल लामाबगरसम्म लगिएको प्रशारण लाइनका करोडौँ मूल्य पर्ने खम्बा र तार पहिरोमा पुरिरहेका छन् । वैशाख १२ को भूकम्प र त्यसपछिका लगातारको कम्पनले आयोजनाको बाँधस्थल १७ सेन्टिमिटर भासिएको छ । “बाँधस्थलको एक भाग भासिएको हो जसलाई सामान्य मर्मत गरी पानी नचुहिने बनाउन सकिन्छ,” प्रवक्ता न्यौपाने भन्नुहुन्छ “अब फेरि ठूलो भूकम्प आएन भने यसले बाँधस्थललाई कुनै असर गर्दैन ।”
आयोजनाका अधिकारीका अनुसार गोंगरदेखि लामाबगर खण्डका कतिपय स्थानमा बाटोको आकार नै देखिँदैन । भूकम्पलगत्तै गएको पहिराका कारण अवरुद्ध बनेको सिगँटीदेखि गोंगरसम्मको सडकखण्ड भने आयोजनाले पटक पटक खुला गरेपनि पहिरोका कारण पटक पटक बन्द हुने गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण, नेपाल सरकार, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, बिमा संस्थान, नागरिक लगानी कोष, टेलिकमलगायत संस्थाका ऋण लगानी र लगानीकर्ता संस्थाका कर्मचारी, सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चय कर्ता, दोलखाबासी र आम सर्वसाधारणको सेयर लगानीमा बन्न लागेको यो स्वदेशी लगानीको हालसम्मकै ठूलो आयोजना हो ।

Leave A Reply

Your email address will not be published.