शहीदहरुसँग इमानको प्रतिज्ञा र देशभक्तीको अनुशरण गर्न आवश्यक : प्रधानमन्त्री

0

काठमाडौं : देशभर विभिन्न कार्यक्रम गरी नागरिक अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ शुक्रबार शहीद दिवस मनाइएको छ ।

दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले रत्नपार्कस्थित शान्ति बाटिकादेखि लैनचौरको शहीद स्मारकसम्म प्रभातफेरि गरेको छ ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुखले शहीद स्मारक लैनचौरमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा सरकार रहेको बताए ।

शहिदको सपना अनुसार नै सवल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढेको उनले बताए ।

शहीदको बलिदानमार्फत मुलुकमा सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले शहिदहरुसँग इमानको प्रतिज्ञा र देशभक्तीको अनुशरण गर्न आवश्यक रहेको बताए ।

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन शहीद दिवस मनाउने गरिन्छ । राणाशासकले शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा, शहीद धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए ।

राणाशासनपछि भएका हरेक आन्दोलनमा मर्नेलाई समेत शहीद घोषणा गरिएकाले सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति शहीद भए भन्ने आधिकारिक तथ्याङ्क छैन ।

झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासो बढ्न थालेको छ ।

Leave A Reply

Your email address will not be published.