आजदेखि शहीद सप्ताह शुरु

0

काठमाडौं : मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाउन शुरु गरिएको छ ।

माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।

विक्रम सम्बत २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।

महानगरले माघ १६ गते रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रभातफेरी शुरु गरी लैनचौरस्थित शहीद स्मारकमा गएर कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुनेछन् ।

आज बिहान महानगरपालिकाले शहीद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थान पचलीमा श्रद्धाञ्जलि कार्यक्रम गरी शहीदप्रति सम्मान गरेको छ । शहीद शास्त्रीलाई बिक्रम सम्बत १९९७ आजकै दिन पचलीमा मृत्युदण्ड दिइएको थियो ।

यसबाहेक शहीद धर्मभक्त माथेमालाई सिफलमा यही माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा गएर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।

राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उहाँहरूलाई तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो ।

Leave A Reply

Your email address will not be published.