पहिलो पटक महिला सैनिकले पूरा गरिन् जंगल वारफेयर तालिम

0

काठमाडौं : नेपाली सेनाको इतिहासमै पहिलोपटक महिला सैनिकले प्रतिबिद्रोह तथा जंगल युद्धकला (वारफेयर) तालिम सम्पन्न गरेकी छन् । प्रतिविद्रोह तथा जंगल युद्धकला (वारफेयर) तालिममा सहभागी भएकी सैनिक जवान (सिपाही) राधिका थापाले सफलतापूर्वक तालिम सम्पन्न गरेकी हुन् । 

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको वडा नम्बर २ थापाटोल घर भएकी थापा २०६९ साल असार १५ गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् । आधारभूत सैन्य तालिम पछि उनी २०७० जेठ २४ देखि नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत थिइन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार शिक्षालयमा कार्यरत रहेकै अवस्थामा थापा उच्चस्तरको शारीरिक एवम् मानसिक क्षमता चाहिने तालिममा सहभागी भएकी थिइन् । 

यो वर्ष कात्तिक १८ गतेदेखि शुरु भएको प्रतिविद्रोह तथा जंगल युद्धकला (वारफेयर) तालिम माघ ६ गते सम्पन्न भएको थियो । ३ महिनासम्म चल्ने अत्यन्तै कठिन मानिने उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण, जंगल सर्भाइभल टेक्निक, सर्पदंश व्यवस्थापन लगायत सैनिक ज्ञान र सीपहरु सिकाइन्छ । 

सैनिक जवान थापाले बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ मेन्टिनेन्स तालिम समेत लिइसकेकी नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । उनले सफलतापूर्वक तालिम सम्पन्न गरेर साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको पनि सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

सैनिक जवा थापासहित नेपाली सेनामा हालसम्म विभिन्न दर्जाका ७ महिला सैनिक कर्मचारीहरु ‘रेकर्ड’ राख्न सफल भएका छन् । पहिलोपटक २०२६ सालमा नेपाली सेनाकी प्राविधि सहायक सेनानी अन्नपूर्ण कुँवर प्याराजम्प गर्ने पहिलो महिला अधिकृत बनेकी थिइन् । यस्तै, २०५६ सालमा उपसेनानी डा सरिता केसी अन्य महिला सैनिक परिचारिकाहरु सहित संयुक्त राष्ट्रसंघको ‘यूएनआईएफआईएल’मा सहभागी हुने पहिलो महिला अधिकृत बनेकी थिइन् । 

२०७२ सालमा सहसेनानी कृति राजभण्डारी संयुक्त राष्ट्रसंघीय सेनाको सम्पर्क अधिकारी बन्ने पहिलो महिला सैनिक अधिकृत बनेकी थिइन् । यस्तै, सेनानी गिता गुरुङ नेपाली सेनामा पहिलो महिला युनिटका रुपमा चिनिने गोखकाली गुल्मको पहिलो गुल्मपति बनेकी थिइन् भने सेनानी सुलोचना पौडेल सैनिक कमाण्ड तथा स्टाफ तालिम सम्पन्न गर्ने महिलो महिला अधिकृत बनेकी थिइन् । 

Leave A Reply

Your email address will not be published.