आन्दोलनबारे निर्णय गर्न प्रचण्ड नेपाल समूहको स्थायी समिति बस्दै

0

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुक्रबार पनि पार्टी मुख्यालय पेरिसडाँडामा बस्दै छ ।

बैठक बिहान ११ बजेलाई तय भएको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । यसपटकको अध्यक्षता पार्टीका समान वरीयताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
आज बस्ने बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

बैठक आजै सक्ने तयारी रहेको अध्यक्ष नेपालले जानकारी दिएका छन् । पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा आन्दोलित छ ।

तर, आन्दोलन सोचेअनुरूप उठ्न नसकेको, जन सहभागिता न्यून हुँदै गएको र जनतालाई आन्दोलनमा ल्याउन नसकेको समीक्षा भइरहेको छ ।

संसद् विघटनको घोषणालगत्तै पुस १४ गते व्यापकरूपमा जनसहभागितासहितको प्रदर्शन गरिए पनि त्यसयता उपत्यकाको आन्दोलन कमजोर बनेको स्थायी कमिटी सदस्यहरूले बताएका छन् ।
बिहीबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले उपत्यका केन्द्रित आन्दोलन प्रभावकारी नभएको विश्लेषण गरेका थिए ।

आजको बैठकले जनप्रदर्शनसहितका थप कार्यक्रम घोषणा गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

त्यस्तै आजको बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुनेछ । पार्टी विभाजनपछि केपी ओली समूहमा लागेकाहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी नेता नेपालले प्रस्ताव तयार पारेका छन् ।

केन्द्रदेखि जिल्ला तहसम्मका सबै कमिटीमा एकैसाथ जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारिएको नेकपाको भनाइ छ । यसअघि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको मात्रै इन्चार्ज तोकिएको थियो । अब सबै तहका कमिटीमा नयाँ जिम्मेवारी तोकिने नेकपाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.