पार्टीबाट खिया लागेका दुई वटा नटबोल्ट आफैं खुस्किए : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड-माधव समूहको चर्को आलोचना गरेका छन् । आफ्नो भाषणको अधिकांश समय नेकपाको प्रचण्ड-माधव समूहलाई ब्यङ्ग्य गर्न खर्चिएका ओलीले पार्टी विभाजनलाई खिया परेका नटबोल्ट खुस्किनुसँग समेत तुलना गरे ।

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खिया लागेका दुई वटा नटबोल्ट आफैं फुस्किएपछि अहिले पार्टीले गति लिएको बताएका हुन् । नेकपाको समस्या दुई वटा नट बोल्टमा रहेको पुष्टि भएको पनि उनले उल्लेख गरे ।

पार्टी बरमझियाको पेडा पसल झै नक्कली हो यो सक्कली भन्ने अवस्था नरहेको पनि उनले उल्लेख गरे ।

नेकपाको प्रचण्ड-माधव पक्षको हालत रत्नपार्कमा सिसिमा औषधि बेच्नेको जस्तै भएको आरोप उनले लगाए । प्रचण्ड-माधव समूको भेलामा अहिले त्यति नै मानिस उपस्थित भएको ओलीको भनाइ छ ।

प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्नु कार्यकर्ता भुल्याउने काम मात्रै भएको भन्दै ओलीले मुलुक चुनावमा गैसकेको पनि उल्लेख गरे । झमेलामुक्त भएर काम गर्नका लागि संविधानअनुसार नै संसद विघटन गरेको दावी ओलीले दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव समूहलाई चुनावमा दुई अंकको सिट ल्याउन चुनौती समेत दिए । प्रचण्ड-माधव समूहलाई पार्टीमा फर्कन आब्हान गर्दै उनले फर्किए पनि प्रवृत्ति र गुट चाहिँ फर्किन नदिने बताए । आफु नेतृत्वमा रहदा देश विकास हुने देखेर मन भतभत पोल्नेहरुले विगतमा छिर्के लाउन र रोक्न खोजेको र अहिले सडकमा गएर गाली गरिरहेको उनको आरोप छ ।

भारतका हरेक ठाउँका मान्छेलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको र विश्व मञ्चहरुमा नेपालको आवाज सुनिएको उनको दावी छ । विश्वका तीव्र आर्थिक वृद्धि गर्ने १० देशमा नेपाल परेको प्रधानमन्त्रीको दावी छ । भेलामा सहभागीलाई कालो मास्क, गलबन्दी र टोपी लगाउन समेत निषेध गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.