भूकम्प गएको एकसय दिन पूरा

0

काठमाडौं, १७ साउन । विभिन्न क्षेत्रका व्यक्तिहरुले महाभूकम्पले क्षति पुर्‍याएको राजधानीको बसन्तपुर क्षेत्रका ऐतिहांसिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शक्तिशाली भूकम्प गएको १ सय दिनको सन्दर्भ पारेर आज काष्ठमण्डप परिसरमा गरिएको कार्यक्रममा उनीहरुले पर्यटकीय आकर्षणको गन्तव्य बनेको बसन्तपुर दरबार क्षेत्रको तत्काल पुर्ननिर्माण गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
हनुमानढोका र आसपासका क्षेत्रमा भूकम्पले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सबै मिलेर पुनर्निर्माणमा जुट्नुपर्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, पर्यटन बोर्ड, इन्द्रजात्रा व्यवस्थापन समिति, हनुमान ढोका दरबार क्षेत्र संरक्षण समिति, विभिन्न दलका सभासद्, संस्कृतिविद्लगायत सहभागी थिए ।
हनुमानढोका दरबार सम्पदा पुनर्निर्माण समितिले पुरातत्व विभागले उपलब्ध गराउने नक्सा र डिजाइनअनुसार नै काम अघि बढाइने जानकारी दिएको थियो । गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्पका कारण हनुमान दरबार क्षेत्र आसपासमा मात्रै १ सय ३१ जनाको ज्यान गएको थियो । त्यसैगरी बसन्तपुर क्षेत्रका पुरातात्विक महत्वका करिब एक दर्जन सम्पदामा क्षति पुगेको थियो । भूकम्पमा परी देशभरबाट करिब ९ हजार मानिसको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

Leave A Reply

Your email address will not be published.