सगरमाथाको नयाँ उचाई आज सार्वजनिक गरिँदै

0

सगरमाथाको उचाइ आज सार्वजनिक गरिँदैछ । यसअघि मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो । बुधबारको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको हो ।

मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दै मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाई सार्वजनिक गर्न मन्त्रालयलाई नै स्वीकृति दिएको थियो । नेपाल र चीनको संयुक्त टोलीले सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ ।

भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ति स्वीकृति प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेस गरेकी थिइन् । आर्थिक वर्ष २०६४÷६५ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले बताइन् । सरकारले पहिलोपटक आफ्नै देशको स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको छ ।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भू–भागमा रहेका स्थानहरुको उचाईमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो ।

सन् २०१९ मा चिनका राष्ट्रपती सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो । सोही बमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए । पछिल्लो पटक सर्भे अफ इन्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८४८ मिटर मानिँदै आएको छ ।

यसअघि गत असारमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सामान्यबाहेक सीमा विवाद नरहेको र नेपालले चाँडै सगरमाथाको उचाइ घोषणा गर्ने बताएका थिए । राष्ट्रियसभामा बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नापी विभागका कर्मचारीले सगरमाथाको उचाई नापेको र डाटा प्रोसेसिङको काम अन्तिम चरणमा पुगेको भन्दै उचाई घोषणा गर्ने तयारी भइरहेको बताएका थिए । यो घोषणासँगै सरगमाथाको नयाँ उचाई कायम हुनेछ ।

Leave A Reply

Your email address will not be published.