वरिष्ठ नेता पाैडेल प्रहरीकाे नियन्त्रण मुक्त

0

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घन्टापछि प्रहरीकाे नियन्त्रण मुक्त भएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जानेक्रममा निषेधाज्ञा तोडेको आरोपमा दिउँसो २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा लगिएका वरिष्ठ नेता पौडेल अपरान्ह छाडिएका थिए ।

प्रहरीले वरिष्ठ नेता पौडेल, कांग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जानेक्रममा नियन्त्रणमा लिइएकामा आपत्ति जनाए।

‘तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ’–उनले भने ‘उक्त घटनाको जति विरोध गरेपनि कम हुन्छ ।’

प्रहरी शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजिएको भनी उनले आपत्ति जनाए ।

थप कार्यक्रम सार्वजनिक गरिने
जिल्ला कांग्रेस तनहुँले बुधबार भएको घटनाको विरोध गर्दै बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

कांग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन सुरु गरिने घोषणा गरे ।

बुधबार दिउँसो प्रहरीसँग भएको झडपमा संविधानसभाका तत्कालीन सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला संघका सभापति पवित्रा पौडेल र महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको कांग्रेसले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत् सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो ।

उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपानिकट युवा संघले सोही पुलमा बुधबारै बिहान विरोधसभा आयोजना गरेको थियो ।

दुवै पक्षबीच झडप हुनसक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

वरिष्ठ नेता पौडेल कांग्रेस कार्यकर्तासहित पुल भएको स्थानमा जान खोजेपछि प्रहरीले रोकेको थियो । सोहीक्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

Leave A Reply

Your email address will not be published.