उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

0

काठमाडौं : आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले शनिबार उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

व्रतालुले शनिबार विहान नदी, ताल र पोखरीमा आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए ।

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिने गर्दछ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

Leave A Reply

Your email address will not be published.