संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय कार्यान्वयन नगर्न समितिको सरकारलाई निर्देशन

0

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था सुशासन समितिले मुलुकको औपचारिक नाम ’नेपाल’ मात्रै राख्ने निर्णय कार्यान्वयन नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले मुलुकको औपचारिक नाम ’नेपाल’ मात्रै राख्ने र ’संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने भनेर गरेको निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो ।

मुलुकको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको स्पष्ट भएकाले सो कुरा सच्याएर नेपाल मात्रै राख्ने भन्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न समितिले निर्देशन दिएको हो ।

समितिको निर्देशनमा नेकपाका सांसदहरू विजय सुब्बा र नवराज सिलवालले फरक मत राखेका छन । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकको औपचारिक नाम कसैले संघीय लोकतान्त्रिक गणतन्त्र र कसैले नेपाल मात्रै लेख्ने गरेकाले एकरुपता दिन नेपाल मात्रै लेख्ने निर्णय गरिएको बताए ।

बैठकमा नेकपाका सांसद पम्फा भुसाल, लालबाबु पण्डित तथा प्रतिपक्षी दलका केहि सांसदले मुलुकको औपचारिक नाम ’नेपाल’ मात्रै राख्ने सरकारले निर्णय उपयुक्त नभएको बताए ।

मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम ’संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ लेखिँदै आएकोमा अबदेखि ’नेपाल’ मात्रै लेख्ने निर्णय गरेको थियो । सो निर्णय संविधान बिपरित भन्दै आलोचना हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.