जागिर गुमाएका र बेतलवी बिदामा रहेका पत्रकारलाई लेखनवृत्ति दिन महासंघको माग

0

काठमाडौं : नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवी पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन समेत माग गरेको हो ।

महासंघको सुझावपत्र बुझ्दै मन्त्री पौडेलले पत्रकारहरुले भोग्नुपरेका समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन उपाय अबलम्बन गर्ने प्रतिबद्धता जनाए ।

महासंघले सञ्चार गृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चारमाध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियत पूर्ण ऋण व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

ऐन कार्यान्वनयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन महासंघले ध्यानाकर्षण गराएको छ ।

विज्ञापन ऐनमा भएको व्यवस्था अनुसार तत्काल सबै प्रकारका सञ्चारमाध्यमले पाउने गरी समानुपातिक विज्ञापन प्रणाली लागु गर्नुपर्ने महासंघको माग छ । महासंघले दुर्घटना बीमालाई थप विस्तार गरी स्वास्थ्य बीमा र जीवन बीमाको व्यवस्था गर्न पनि अग्रह गरेको छ ।

यसैगरी सरकारी अस्पताल र स्वास्थ्यसंस्थाबाट उपलब्ध गराइने भनिएको ५० प्रतिशत छुट लगायतका पूर्व निर्णहरु पनि कार्यान्वयन गर्न महासंघले आग्रह गरेको छ । यही आर्थिक वर्षदेखि लागू हुने गरी जेष्ठ पत्रकार जीविकोपार्जन भत्ता वितरण गर्न पनि महासंघले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.