गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा शनिवार शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताएका हुन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आँकाक्षा पूरा गर्न सरकार सक्रिय रहेको समेत बताएका छन् ।

गरिबी निवारणका यी लक्ष्य हासिल गर्न सर्वसुलभ आधुनिक पूर्वाधार एवं मानव पूँजी निर्माण, उच्च र दीगो उत्पादन तथा उत्पादकत्व वृद्धि, उच्च र समतामूलक राष्ट्रिय आय निर्माण गर्न सरकार योजनाबद्ध ढंगले अघि बढेको उनको भनाइ छ ।

गरिबीबाट समृद्धितर्फ अगाडि बढ्न नसके मुलुकको जनशक्तिलाई समाजका हानिकारक तत्वले आफ्नो अनूचित स्वार्थ पूरा गर्न दुरुपयोग गर्ने भन्दै प्रधानमन्त्रीले चिन्ता समेत जनाएका छन् । संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि हरेक वर्ष अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.