कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा

0

कञ्चनपुर : चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन् ।

जारी निषेधाज्ञाअनुसार वडादशैँका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगाइएको छ । चाडपर्व मनाउँदा एकाघरमा बसोवास गर्दै आएका परिवारका सदस्यको बीचमा मात्र मनाउन पाइनेछ । अनावश्यकरूपमा हिँडडुल गर्न, भेला जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।

घरमै बसी पूजाआजा गर्ने, चाडपर्वको अवसर पारेर कुनै पनि राजनीतिक दल, सङ्घसंस्था, क्लब, समूह तथा सञ्जालहरुको भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायत क्रियाकलाप गर्न पाइने छैन । प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेको निषेधाज्ञामा अवैध मदिरा उत्पादन बिक्री, वितरण तथा उपभोग गर्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, होहल्ला गर्ने र तीव्ररुपमा सवारी साधान चलाउने कार्य गरेको पाइए कानूनी कारवाही गरिने उल्लेख गरिएको छ । चाडपर्वका अवसरमा जुवातास र गैरकानूनीरूपमा चिठ्ठा खोल्ने तथा कहीँकतै त्यस्ता क्रियाकलाप भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत भनिएको छ ।

राजमार्ग छेउछाउका खुलारूपमा दूषित खाद्यपदार्थ बिक्री वितरण गर्ने र त्यस्ता स्थानमा राखिएका स्वास्थ्यलाई नकारात्मक असर पर्ने सामान खरिद तथा उपभोग नगर्नसमेत उपभोक्तालाई सुझाव दिइएको छ । पटाका, आतिसबाजीलगायत विष्फोटक पदार्थ ओसारपसार गर्ने, ध्वनि प्रदूषणलगायत कुनै पनि चर्को स्वरमा माइक बजाउने कार्यमा पूर्णरूपमा रोक लगाइएको छ ।

राजमार्गलगायत कुनै पनि स्थानमा सवारी साधन अवरोध गरी चन्दा तथा सहयोग सङ्कलन गर्ने, धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिथोल्ने कार्य गर्नेलाई कानूनी कारवाही गरिने भएको छ ।

Leave A Reply

Your email address will not be published.