डा. केसीले तोडे अनसन

0

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेका डा. गोविन्द केसीले २८ दिनपछि अनसन तोडेका छन् । शनिवार राति सरकारसँग आठ बुँदे सहमति भएसँगै उनले १९ औँ अनसन आज तोडेका हुन् ।

उनले कोरोना संक्रमण मुक्त भएका शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन अन्त्य गरेका हुन् । अनसन तोडे लगत्तै केसीलाई त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

गएराति डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएको थियो । सहमतिपत्रमा डा. केसीले आफैं र सरकारका तर्फबाट वार्ता टोली संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरेका थिए । सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

अन्य स्थानमा २०८० फागुन १० भित्र पढाइ सुरु गर्ने सहमतिमा उल्लेख छ । सहमतिमा विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने उल्लेख छ ।

चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा केसीबीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख गर्ने, डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न एक वर्षभित्र प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।

प्रदेश २ को सप्तरीस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका हकमा पूर्वाधार निर्माणलाई तीव्रता दिने सहमतिपत्रमा उल्लेख छ ।

यसैगरी कोरोना भाइरसको उचित व्यवस्थापनका लागि पीसीआर परीक्षण विस्तार गर्नुका साथै कोभिड तथा अन्य रोगको उपचारका लागि आवश्यकताअनुसार सरकारी अस्पतालको क्षमता विस्तार गर्ने सहमतिमा उल्लेख गरिएको छ ।

डा. केसीले ६ बुँदै राख्दै भदौ २९ गते जुम्लाबाट अनसन सुरु गरेका थिए । स्वास्थ्य अवस्था कमजोर भएपछि केसीलाई असोज ६ गते अनसनरत् अवस्थामै जुम्लाबाट काठमाडौँ ल्याइएको थियो ।

Leave A Reply

Your email address will not be published.