डा. केसी र सरकाबीच आज पनि वार्ता, चिकित्सक संघको आन्दोलन स्थगित

0

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको आज पुनः वार्ता हुने भएको छ ।

बिहीबार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाएका मागका विषयमा छलफल भएको थियो । छलफलले डा केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ । तर अन्तिम निष्कर्षमा भने पुग्न नसिकएको एक सदस्यले बताए ।

वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनाली संयोजकत्वको र डा केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वको टोलीले वार्ता गरेको हो ।

बिहीबार नै सहमतिमा पुग्ने प्रयास गरिए पनि दुवै पक्षले थप छलफल आवश्यक परेको भन्दै आज पुनः वार्ता गर्ने तय भएको बताइएको छ ।

डा केसी अनसन बसेको २५औं दिनमा सरकारले वार्ता सुरु गरेको हो । बुधबार दुवै पक्षले वार्ता टोली गठन गरेका थिए ।

यसैबीच, नेपाल चिकित्सक संघले डा गोविन्द केसीको समर्थनमा आज २३ गते तय गरिएको स्वास्थ्य सेवा बहिस्कारको निर्णय स्थगित गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै सरकारी र डा केसीका प्रतिनिधिबीच वार्ता सकारात्मक रुपमा अघि बढिरहेको र कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै २३ गते घोषित आकस्मिक र कोभिड १९ का सेवाबाहेकका स्वास्थ्य सेवा बहिस्कारको निर्णय स्थगित गरिएको जनाएको हो ।

२६ दिनदेखि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि संघले असोज २२ गतेदेखि विभिन्न विरोधका कार्यक्रम घोषणा गरेको थियो ।

Leave A Reply

Your email address will not be published.