मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमण

0

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो । काफ्लेलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बस्नुभएको र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बुभिएको छ ।

सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले आफू होेम आइसोलेसनमा रहेको काफ्लेले बताइन् । सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०/१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताइन् ।

काफ्लेलाई संक्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ । “मुख्यमन्त्री ज्यू विगतदेखिनै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आउनुभएको छ त्यो निरन्तर रहन्छ”, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भने । भेटघाटलाई भने न्यून पारिएको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.