प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेशसभामा मतदान हुँदै

0

बुटवल : प्रदेश पाँचको स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेशसभामा मतदान हुँदैछ । प्रस्तावका विषयमा छलफल गर्न प्रदेश सभा बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको छ ।

सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएकाले आज मतदान हुन लागेको हो ।

जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै एउटा संशोधन प्रस्ताव दर्ता भएको छ । आज बैठकमा संशोधन दर्ता गर्ने संशोधनकर्तालाई सुरुमा बोल्ने मौका दिइने र त्यसलगत्तै प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने तयारी प्रदेश संसद सचिवालयले गरेको छ ।

प्रस्ताव पास हुनका लागि प्रदेशसभामा रहेका ८७ जना सांसदमध्ये ५८ जनाको मत चाहिन्छ । ६१ सांसद रहेको नेकपाका सबै सांसदले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी कायम हुनेछ ।

प्रदेश सभामा कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन् । कांग्रेस र समाजवादीका केही सांसदले समेत प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना छ । स्थायी राजधानीको विषयलाई लिएर प्रतिपक्षी नेपाली काग्रेसका सांसदले सोमबार प्रदेश सभा बैठकमै तोडफोड गरेका थिए ।

Leave A Reply

Your email address will not be published.