आईसीयू पाउनै मुस्किल

0

भक्तपुर बालकोटका एक कोरोना संक्रमित घरमै आइसोलेसन बसेका थिए । सास फेर्न गाह्रो भएपछि शुक्रबार उनी नजिकैको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल पुगे । उनलाई आईसीयू चाहिने देखियो । अस्पतालले कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाका सरकारी र निजी अस्पतालमा आईसीयू बेड खोज्न थाल्यो ।स्वास्थ्य मन्त्रालयमा समेत जानकारी गरायो । कतै आईसीयू शय्या खाली भेटिएन । ‘संक्रमितलाई हाइफ्लो अक्सिजन दिएर राख्यौं । आइतबार बल्ल बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा आईसीयू बेड पायौं,’ अस्पतालका मेडिकल डाइरेक्टर डा. दीपेन्द्रकुमार रोशनले भने, ‘काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई आईसीयू पाउन गाह्रो हुन थाल्यो ।’

ती संक्रमितलाई भर्ना गरिएको सशस्त्र प्रहरी अस्पतालमा २० शय्याको आईसीयू छ । सबै गम्भीर खालका बिरामी छन् । दुई जना भेन्टिलेटरमा छन् । ‘पछिल्लो समय आईसीयू खाली छ कि भन्दै सोध्ने फोन बढी आउँछ,’ अस्पतालका कोभिड कोर्डिनेटर डा. प्रवीन नेपालले भने, ‘दिनमा मुस्किलले १/२ बेडमात्रै खाली हुन्छ । यहाँको आईसीयूमा आउन बिरामी सरकारी र निजी अस्पतालमा कुरेर बसेका छन् ।’

निजी अस्पतालको आईसीयूमा खर्च बढी लाग्ने भएकाले धेरै बिरामी सरकारी अस्पतालमै जान चाहन्छन् । अस्पताल चहार्दै हिँड्दा पनि हतपती भेट्दैनन् । ‘मन्त्रालयमा नाम टिपाए पनि हामीले सरकारी अस्पतालमा कतै पनि आईसीयू पाएनौं,’ काठमाडौं बूढानीलकण्ठका एक संक्रमितका आफन्तले भने, ‘केही दिनमा आईसीयू मिलाइदिने सर्तमा बिरामीलाई निजी अस्पतालमा राखेका छौं ।’

पाटन अस्पतालका मेडिकल अफिसर विष्णु पटेलले मन्त्रालयले संक्रमित हुनेको संख्या सुनाउनुभन्दा कुन अस्पतालमा कति आईसीयू र भेन्टिलेटर खाली छन् भनेर जानकारी दिने गरे सर्वसाधारणलाई सहज हुने भनेर फेसबुकमा स्टाटस लेखेका छन् । मन्त्रालयले काठमाडौं उपत्यकाको कुन अस्पतालका आईसीयू र भेन्टिलेटरमा कति संक्रमितको उपचार भइरहेको छ भनेर हरेक दिन जानकारी सार्वजनिक गर्थ्यो तर असोज ९ पछि यस्तो विवरण सार्वजनिक गर्न छाडिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Leave A Reply

Your email address will not be published.