केन्द्रीय कारागारमा ३ कैदीबन्दीको मृत्यु, एकमा कोरोना पुष्टि, बाँकीको रिपोर्ट आउन बाँकी

0

काठमाडौं : केन्द्रीय कारागार सुन्धरामा तीन कैदीबन्दीको गएराति मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । कञ्चनपुरका ४० वर्षीय कोरोना संक्रमित युवकको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।

त्यस्तै सिरहाका ६४ वर्षीय पुरुषको कारागारमै मृत्यु भएको हो । बझाङका ६० वर्षीय पुरुषको पनि गएराति वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाँस्कोटाले जानकारी दिए । दुबैको मृत्यु कोरोना संक्रमणबाटै भएको आशंका गरिएको छ । उनीहरुको स्वाब परीक्षणको तयारी गरिएको छ ।

केन्द्रीय कारगारका ५० कैदी र ५६ प्रहरीमा केही दिनअघि संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको भने स्वाब संकलन हुन बाँकी रहेको छ । संक्रमण पुष्टि भएको पाँच दिनपछि मात्रै कन्ट्रयाक ट्रेसिङ गर्ने भनिएकाले स्वाब संकलन गर्न बाँकी रहेको केन्द्रिय कारागारले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.