जरिवाना तिर्न नसक्दा युएई एयरपोर्टमै अड्किए १७ नेपाली

0

काठमाण्डौ – भिसा समय अवधि सकिएका १७ जना नेपाली जरिवाना तिर्न नसकेर उतै अड्किएका छन्। नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल आउन लागेका नेपाली भिसा सकिए पछिको जरिवाना तिर्न नसकेर एयरपोर्टमै अड्किएका हुन्।

कोरोना भाइरस (कोभिड १९) सक्रमणबाट रोजगारी गुमाएर फर्किन बाध्य भएका १७ जना कामदारलाई त्यहाँको अध्यागमनले रोकेपछि हैरानीमा परेका छन्। कोभिडपछि भिसा सकिएकालाई जरिवाना नलगाउन सरकारले आग्रह गरे पनि पछिल्लो समयमा भिसा सकिएकालाई युएईले जरिवाना लगाएको हो।


भिसा सकएका कतिपयको एक हजार सातदेखि एक हजार आठ सय दिरामसम्म जरिवाना तिर्नुपर्ने देखिएको बुझिएको छ। थोरै जरिवाना तिर्नुपरेका कामदारले जरिवाना तिरेर स्वदेश फर्किएका छन्।

नेपाल एयरलाईन्सका प्रवक्ता अर्चना खड्काले धेरै नेपालीले जरिवाना तिर्नुपर्ने देखिएपछि जहाज उडान समयभन्दा चार घण्टा ढिलो भएको बताइन्। ‘जरिवाना तिर्नुपर्नेबारे यात्रुहरुलाई पनि थाहा हुँदैन’, उनले भनिन्,‘मुलुक छोड्दा मात्रै जरिवाना तिर्न धेरै देखिएपछि १७ जनालाई त्यहीं छोडेर जहाज नेपाल आएको हो।’

उनका अनुसार अरु भिसा सकिएकाले जरिवाना तिरेर स्वदेश आएको बताइन्। १७ जनाको जरिवाना धेरै भएकाले ल्याउन नसकिएको उनको भनाइ छ। आरए ९२२९२० बाट सोमबार दुबईबाट दुई सय ५८ जना नेपाली स्वदेश फर्किएको एयरलाइन्सले जनाएको छ। कोरोनाका कारण स्वदेश आउन नपाएका नेपाली भिसा सकिएको जरिवाना तिर्नु पर्दा थप तनावमा परेका छन्। एयरलान्सकी प्रवक्ता खड्काले नियमानुसार केही शुल्क काटेर आउन नपाएका १७ जनाको टिकटको पैसा फिर्ता गर्ने बताइन्।

Leave A Reply

Your email address will not be published.