मापसे गरेर सवारी चलाउने बढे

0

रत्ननगर, ७ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०७१-७२ मा मापसे कारबाहीबाट रु ११ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न क्षेत्रमा गरेको जाँचका क्रममा एक हजार १६८ जनामाथि गरेको कारबाहीबाट राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक तथा कार्यालय प्रमुख रमेशराज भेटवालले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा यो झन्डै रु साढे तीन लाखले बढी हो । आर्थिक वर्ष २०७०-७१ मा कार्यालयले ८२६ सवारीचालकलाई गरेको कारबाहीबाट रु आठ लाख २६ हजार राजस्व सङ्कलन गरेको थियो ।
गत वर्षको साउनदेखि माघसम्म बढी मापसे कारबाहीमा परेको छ । उक्त समयमा मात्रै रु आठ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । सबैभन्दा बढी पुसमा १९३ जनालाई कारबाही गरी एक लाख ९३ हजार राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कारबाहीमा अधिकांश मोटरसाइकल चालक परेका छन् । मोटरसाइकल चालकबाट मात्रै आव २०७१÷७२ मा रु १० लाखभन्दा बढी राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । प्रहरीको सङ्ख्या कमीका कारण कारबाही प्रक्रियामा समस्या भए पनि यो वर्ष पनि कारबाहीलाई तीव्र गति दिएको कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.