पूर्व सभासद् र प्रहरी निरीक्षकसहित पन्ध्र जना घाइते

0

गौशाला, ४ साउन । महोत्तरीको विभिन्न छ वटा निर्वाचन क्षेत्रमा नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामाथि राय सुझाव सङ्कलनका क्रममा भएको झडपमा परी पूर्व सभासद् तथा प्रहरी निरीक्षकसहित १५ जना घाइते भएका छन् ।
जिल्लाको क्षेत्र नं ५ का राय सुझाव सङ्कलन केन्द्र रामगोपालपुर उच्च माविमा विरोध गर्न गएका पूर्व सभासद् कौशलकुमार यादव, सद्भावनाका विदेश विभाग प्रमुख देवेन्द्र यादवसहित १२ जना प्रदर्शनकारी घाइते भएका छन् ।
त्यस्तै जिल्लाको क्षेत्र नं ४ को सङ्कलन केन्द्र मनरा उमाविका प्रहरी निरीक्षक नरेश महतोको टाउको फुटेर गम्भीर घाइते हुनुभएको छ ।
त्यस्तै क्षेत्र नं ३ को सङ्कलन केन्द्र जिल्ला सदरमुकाम जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा सद्भावना पार्टीका केन्द्रीय सदस्य रमन पाण्डेय, नागरिक समाजका देवेन्द्र चौधरी घाइते भएका छन् ।
त्यस्तै अन्य दर्जनाँै प्रदर्शकारीलाई सामान्य चोटपटक लागेको छ । जिल्लाको क्षेत्र नं ३, ४ र ५ मा मधेसवादी र एमाओवादी दलले राय सुझाव सङ्कलन कार्यक्रममा विभिन्न नारा जुलुस, फारम च्यातिएको, आगजनी गरिएको र विरोध प्रदर्शन गरेका छन् ।
जिल्लाको क्षेत्र नं १ को बर्दिवासमा राय सुझाव सङ्कलन शान्तिपूर्ण अवस्थामा भएको छ भने क्षेत्र नं २ को बलबामा पनि सामान्य अवस्थामा भएको छ ।
त्यस्तै क्षेत्र नं ६ को गौशालामा मधेसवादी दल र एमाओवादी वैद्य समूहले राय सुझाव सङ्कलन फारम च्यातेर आगजनी गर्नुका साथै कालो झन्डा देखाई विरोध जनाएका छन् । जिल्लाको विभिन्न क्षेत्रको राय सुझाव सङ्कलन केन्द्रमा भएको विरोध, प्रदर्शन र होहल्लाका कारण जिल्लाको अवस्था तनाबग्रस्त रहेको छ भने कडा सुरक्षाका बीच जिल्लाको छवटै निर्वाचन क्षेत्रमा राय सुझाव सङ्कलन कार्यक्रम भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.