काठमाण्डौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका एक र ललितपुरका एक जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मधुमेहका बिरामी स्याङ्जाको आँधिखोला–१ का ५५ वर्षीय पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएको ती पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा उपचारकै क्रममा बुधबार राति मृत्यु भएको हो ।
यस्तै ललितपुरको महालक्ष्मी–५ का ५० वर्षिय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । पाँच महिनाअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरेका पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
नर्भिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।
यस्तै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट बिहीबार ६ हजार ५ सय ४३ गरी आजसम्म १ लाख ९९ हजार ७ सय ३७ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट बिहीबार ४ हजार १ सय ६७ गरी आजसम्म २ लाख ८७ हजार ८ सय ६३ जनाको परीक्षण भएको छ ।
अहिले देशभरीका क्वारेन्टाइनमा ७४ हजार २२ जना र ८ हजार ४ सय २२ जना आइसोलेसनमा रहेका छन् ।
बिहीबार महिला १९ र पुरुष २ सय ९३ गरी ३ सय १२ जना डिस्चार्ज भएका छन् । आजसम्म २ हजार ६ सय ५० जना डिस्चार्ज पुगेको स्वास्थ्य मन्त्रालय जनाएको छ ।
हालसम्म कोरोनाको संक्रमण ७६ जिल्लामा फैलिएको छ ।