काठमाण्डौं – कोरोना भाइरस महामारीका कारण अत्याधिक प्रभावित हुने देशको सूचिमा दोस्रो नम्बरमा रहेको स्पेनमा महामारी केही सुस्त हुने शंकेत देखिएको छ ।
स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेन कोरोना भायइरसको उच्च तहको संक्रमण संकट पार गर्ने अवस्थामा पुगेको बताएका छन् ।
लगातार दोस्रो दिन नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट हुने मृत्यु स्पेनमा घटेपछि प्रधानमन्त्री सान्चेजले आशको सञ्चार भएको बताएका हुन् ।
स्पनेमा शनिबार कोरोना भाइरसका कारण ८०९ जनाको मृत्यु भयो । यो पछिल्लो एक हप्ता यताकै कम हो।

स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ९४७ पुगेको छ । सबैभन्दा धेरैको मृत्यु भएको देश हो इटाली, त्यहाँ अहिलेसम्म १५ हजार ३६२ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । तर संक्रमितको संख्या भने इटालीमा भन्दा स्पेनमा बढी छ ।
स्पेनमा एक लाख २६ हजार भन्दा बढी तथा इटालीमा एक लाख २४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमणदर पनि केही कम हुँदै गएको छ ।
स्पेनका प्रधानमन्त्री सान्चेजले लकडाउनको अवधि अप्रिल २५ सम्मका लागि बढाएका छन् । लकडाउनसहितका सामाजिक दूरी कामय गर्ने उपायहरुले जीवन रक्षा गरेको उनले बताएका छन् । स्पेनमा मार्च १४ देखि लकडाउन लागु भएको थियो ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि थप दुई हप्ताको लकडाउन अत्यावश्यक रहेको प्रधानमन्त्री सान्चेजले राष्ट्रका नाममा गरेको सम्बोधनमा बताएका हुन् ।

यस्तै सरकारी अधिकारीहरुले सबै नागरिकका लागि पर्याप्त मास्कको व्यवस्था गर्ने प्रयास गरिरहेका छन् । मास्कको व्यवस्था गरेपछि विभिन्न गतिविधिमा पनि लाग्दै आएको प्रतिबन्ध कम गर्न सकिने उनीहरुको विश्लेषण छ ।
विश्वभर अहिलेसम्म कोभिड–१९ का कारण ६४ हजार ७१६ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या विश्वभर १२ लाख भन्दा बढी रहेको छ । अहिलेसम्म दुई लाख ४६ हजार भन्दा बढी विश्वभरमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किएका छन् ।
सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा कुल संक्रमितको संख्या तीन लाख ११ हजार भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या ८ हजार ४५२ पुगेको छ ।