कोरोना रोक्न स्विडेनको फरक कदम, पाउला सफलता ?

0

काठमाण्डौं – संसारका धेरै देशमा लगाइएको कठोर लकडाउन (बन्दाबन्दी) को नियमविपरीत स्विडेनले आफ्ना नागरिकहरूलाई आफैं जिम्मेवार रहन सुझाव दिएको छ ।

स्विडेनले यसका लागि निर्देशिका मात्र जारी गरेको छ । धेरैजसो मानिस घरैबाट काम गरिरहेका छन् तर केही मानिस बाहिर निस्केर गर्मी मौसमको आनन्द पनि लिइरहेका छन् ।

लामो समयसम्मको जाडोपछि स्विडेनमा अब बाहिर बस्न सकिने गरी गर्मी भएको छ ।

राजधानी स्टकहोममा मानिसहरू मौसमको आनन्द उठाउनका लागि बाहिर निस्कन थालेका छन् ।

शहरमा नाइटक्लबहरू अघिल्लो साता खुलै रहे । तर आइतवारदेखि ५० भन्दा बढी मानिसलाई भेला हुन रोक लगाइएको छ ।

उता डेनमार्कमा १० जनासम्म मात्र भेला हुन पाउँछन् । बेलायतमा घरबाहिर निस्कन नै पाइँदैन, मान्छे भेट्ने त परै जाओस् ।

स्विडेनका सडकमा सामान्य समयभन्दा बढी शान्ति छ ।

स्टकहोमको सार्वजनिक यातायात कम्पनी एसएलले अघिल्लो साता सबवे र कम्युटर ट्रेनमा यात्रीहरूको संख्यामा ५० प्रतिशत कमी आएको जनाएको छ ।

सरकारी अनुदानमा चल्ने कम्पनी स्टकहोम बिजनेस रिजनले घरबाट काम गर्ने मानिसको संख्या ९० प्रतिशत पुगेको अनुमान गरेको छ । त्यहाँ धेरैजसो कामदारहरू प्रविधिमैत्री भएकाले पनि स्थिति सहज बनेको हो । अनि देशको व्यापारिक संस्कारमा टाढा बसेर काम गर्ने अभ्यासलाई लामो समयदेखि प्रोत्साहन गर्दै आइएको छ ।

सार्वजनिक स्वास्थ्य अधिकारी तथा राजनेताहरूले कडा कदम नउठाइकनै भाइरस फैलिनबाट रोक्न सकिने आशा गरेका छन् ।

कडा नियमभन्दा पनि निर्देशिकाहरू बढी जारी गरिएका छन् । सरकारले बिरामी र वृद्धहरूलाई घरमै बस्न, हात धोइरहन र अनावश्यक यात्रा नगर्न भनिरहेको छ । अनि घरैबाट काम गर्न पनि भनेको छ ।

स्विडेनमा कोरोनाका ३५ सय केस आएका छन् र १०५ जनाको ज्यान गएको छ ।

प्रधानमन्त्री स्टिफन लोफवेनले अघिल्लो साता राष्ट्रको नाममा सन्देश प्रवाह गरे, ‘हामीले परिपक्व व्यवहार देखाउनुपर्छ । त्रास फैलाउनुहुँदैन । अफवाह फिजाउनुहुँदैन । यस संकटमा कोही पनि एक्लो छैन । सबैजनामाथि भारी जिम्मेवारी छ ।’

प्रधानमन्त्रीको सम्बोधनपछि गरिएका सर्वेक्षणमा जनताले उनको कुरामा सहमति जनाएको पाइएको छ ।

स्विडेनका मानिसहरू घरबाहिर निस्कन मन पराउँछन् । अधिकारीहरूका अनुसार, बाहिर निस्कन पाउँदा मानिसहरू शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन्छन् । त्यसैले उनीहरूले घरैमा बस्नू भन्ने नियम नमान्ने सम्भावना छ ।

Leave A Reply

Your email address will not be published.