कांग्रेसमा कोरोनाको भन्दा देउवाकै डर

0

काठमाण्डौं – सिंगो मुलुक कोरोना भाइरसबाट कसरी जोगिने भन्ने चिन्तामा रहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने पदको लुछाचुडीमा व्यस्त देखिन्छ । नेपाल मात्र होइन, सारा संसारका प्राथमिकता फेरिएका छन् । नियमिततामा आकस्मिकता थपिएझैँ कोरोना भाइरससँगको लडाइँमा सारा विश्व एकजुट हुनुपर्ने मतऐक्यता आइरहेको छ । तर, कांग्रेसलाई न कोरोनाको चिन्ता छ, न नेपाली जनताको चिन्ता । एक वर्षपछि हुने भनिएको (अझै पनि अनिश्चित नै रहेको) १४औँ महाधिवेशन कसरी आफ्नो पक्षमा पार्ने भन्ने लडाइँमा कांग्रेस रुमल्लिएको छ ।

नेपालीमा एउटा उखान छ, ‘छोरो पाउनु कहिले कहिले, कन्दनी बाटी अहिले’ भनेझैँ एकवर्षपछिको महाधिवेशनलाई हेरेर एकपक्षले अर्कोलाई निषेध गर्ने, एउटाले अर्कोलाई सिध्याउने, एउटाले अर्कोलाई भण्डाफोर गर्ने काममा कांग्रेस शीर्ष नेता लागेका छन् । १३औँ महाधिवेशनका मुख्य प्रत्यासी अहिले पनि पार्टी सभापतिको लडाइँमा तम्सिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवा आफ्नो गुटलाई बलियो बनाउँदै, अन्य गुटबाट नेता तान्न व्यस्त छन् । देउवासँग पराजित भएका रामचन्द्र पौडेल पुनः उम्मेदवार बनेर आफ्नो भाग्य परीक्षा गर्ने दाउमा छन् । तर, यसपटक उनलाई उम्मेदवार बन्न सहज भने छैन । त्यस्तै कृष्णप्रसाद सिटौला पनि आफूलाई सभापतिको उम्मेदवार बनेर प्रचार गरिरहेका छन् । तर, संगठनभित्र ठूलो जनाधार नभएर सिटौलाले आफ्नो पूरा प्यानलसम्म बनाउन सक्ने क्षमता राख्दैनन् ।

बाहिर हेर्दा तीन गुटबीच भिडन्तजस्तो देखिए पनि अन्तिममा दुई उम्मेदवारबीच मात्र चुनावी प्रतिस्पर्धा हुने धेरैको अनुमान छ । ‘१३औँ महाधिवेशनमा जस्तो १४ औँ अधिवेशनमा पनि सभापतिमा तीनजना उम्मेदवार हुन्छन्जस्तो लाग्दैन,’ कांग्रेसका एक केन्द्रीय कार्यसमिति सदस्यले दृष्टिसँग भने, ‘अन्तिममा दुई जनामात्रै उम्मेदवार बन्ने हुन् । को–को हुन्छन्, त्यो भने अहिले स्पष्ट छैन ।’ आफ्नो समूहबाट देउवा एक्लै उम्मेदवार बन्ने निश्चितजस्तै छ । देउवाले उठ्छु भन्दासम्म देउवा अब हुँदैनन्, म उठ्छु भनेर हात ठड्याउने अर्को कुनै नेता त्यो समूहमा देखिँदैन । अर्कोतर्फ भने पौडेल र सिटौलालाई पछि पार्दै शेखर कोइरालाले बाजी मार्ने सम्भावना बढ्दै गएको बताइन्छ ।

शशांकलाई ब्याक गराउने खेल

शेखरले शशांकलाई ब्याक गर्न सक्ने सम्भावना बढ्दै गएको कांग्रेसवृत्तमा चर्चा चल्न थालेको छ । बिपी पुत्र हुनुबाहेक शशांकमा नेतृत्वका लागि अन्य खास गुण नभएकाले पनि उनी ब्याक हुने धेरैको अनुमान छ । स्वयं शेखर र शशांक तथा गिरिजाप्रसाद पुत्री सुजाता कोइरालाबीच एकखाले समझदारी बनिसकेको दाबी स्रोतको छ । पार्टी कार्यकर्तासम्मको पहुँच र प्रभाव तथा नेतृत्वको कुशलताका कारण शेखरलाई सभापति पद छाड्न शशांक तयार हुने स्रोतको भनाइ छ । यही डरले देउवालाई समेत सताएको छ । त्यसैले उनले गत साता मात्रै जिल्ला जिल्लामा गुटको भेला गर्न निषेध गरी शेखरलाई काठमाडौं फर्कन आदेश दिएका थिए । तर, सभापति देउवाको आदेशपछि पनि शेखरले भने पूर्वनिर्धारित कार्यक्रम सकेर मात्रै उपत्यका फर्कने बताइसकेका छन् ।

मुलुकलाई कोरोनाको त्रासले मनोवैज्ञानिक असर पारिरहेका बेला आआफ्ना स्वार्थमा केन्द्रित हुँदै कांग्रेस नेताहरू दौडाहा रहँदा आम सर्वसाधारणले भने चर्को आलोचना गरिरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालहरूमार्फत् आमजनताले व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थ र पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको स्वार्थमा ध्यान दिन कांग्रेस नेताहरूलाई सुझाब दिनेहरू बढिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.