क्वात्राको म्याराथन दौडको पहिलो नतिजा

0
कालापानी बाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव कार्यसूची बाटै हट्यो

काठमाण्डौं – हालै मात्र नेपालका लागि भारतीय राजदूतका रूपमा आएका विनयमोहन क्वात्राले आफ्नो म्याराथन दौडको पहिलो नतिजास्वरूप कालापानी बाट भारतीय सेना हटाउने संकल्प प्रस्तावमा छलफल हुने कार्यसूची बुधबार बेलुका सार्वजनिक भयो तर बिहिवार बिहान भने यो संकल्प प्रस्ताव प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट एकाएक गायव भयो । यसलाई क्वात्राको पहिलो म्याराथनको सफलता मानिएको छ ।

राष्ट्रपति समक्ष ओहाेदाकाे प्रमाणपत्र बुझाए लगत्तै उनि तिब्र राजनीतिक भेटघाटमा सक्रिय भएका थिए । यसै क्रममा सभामुख अग्नी प्रसाद सापकोटालाईसमेत मंगलबार भेट गरिसकेका उनको कमाल संसदको बिहीबारको कार्यासूचीबाट एक महत्वपूर्ण प्रस्ताब हटेपछि देखिएको हो ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू–भागसमेत भारतीय क्षेत्रमा पारिए पश्चात बल्झिएको नेपालको उत्तर–पश्चिमी सीमा कालापानी क्षेत्रमा भारतले मिचेको भू–भाग फिर्ता ल्याउने तथा त्यहाँ रहेका विदेशी (भारतीय) सैनिक हटाउने सम्बन्धमा संकल्प प्रस्ताव दर्ता गर्ने विषय बिहीबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाटै हटाएको छ ।

यसअघि सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको कार्यसूचीको पहिलो नम्बरमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज खधिकारीले कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय उल्लेख थियो ।

उक्त प्रस्तावमा नेकपाकै सांसद रामकुमारी क्राँक्रीले समर्थन गर्ने भनिएको थियो । तर, बिहीबार बिहान ११ बजेतिर बैठक शुरु हुनुभन्दा केही अगाडि उक्त प्रस्तावलाई कार्यसूचीबाट हटाइएको हो ।

‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भू–भाग कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कूटनीतिक र अन्य पहलकदमी गरी नेपालको भू–भाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले’ भन्दै नेकपा सांसदलले संकल्प प्रस्ताव दर्ता गर्न लागेका थिए ।

गत मंगलबार भारतीय राजदूत विनयमोहन क्वात्रा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको थियो ।

नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेको बताएका थिए ।

भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको बताइएको थियो । नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्रकृतिक सम्बन्ध भएकोले नेपाल भारत बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका थिए ।

भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्वात्रासँग सभामुखको भेटवार्तासँगै त्यसलगत्तै संसदमा यसअघि सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको कार्यसूचीको पहिलो नम्बरमै रहेको नेपालको उत्तर–पश्चिमी सीमा कालापानी क्षेत्रमा भारतले मिचेको भू–भाग फिर्ता ल्याउने तथा त्यहाँ रहेका विदेशी (भारतीय) सैनिक हटाउने सम्बन्धमा संकल्प प्रस्ताव दर्ता गर्ने विषय बिहीबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाटै हट्नुमा नयाँ राजदुतको प्रभाव नै भएको विश्लेषण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.