वामदेवलाई रोकेरै छाड्ने रणनितीमा ओली

0

काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई कुनै हालतमा राष्ट्रियसभा सदस्य हुन नदिने गरी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्ष लागेको छ । ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि नेकपा सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितका लागि सरकारबाट सिफारिश गर्ने निर्णय गरेपनि कार्यान्वयन भएको छैन । तर, ओली अस्पतालको शैयामै रहेको अवस्थामा उनी निकटस्थ सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले गौतमलाई मनोनित नगर्ने संकेत गरेका छन् ।

पोखरेलले प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँगको अन्तवार्तामा गौतम राष्ट्रियसभामा मनोनित गर्ने विषयबारे भने, कुन अभिष्ट पूरा गर्न मनोनित हुने ? यसअघि ओली पक्षका नेताहरुले गौतमलाई कुनै हालतमा मनोनित गर्न नहुने धारणा सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले सरकारलाई पार्टीले निर्देशन दिन नमिल्ने सुझाव मात्र दिन मिल्ने तर्क गरिसकेका छन् । यसको अर्थ प्रधानमन्त्री ओली सरकारको काममा सचिवालयको निर्णय मान्न वाध्य हुनेछैनन् भन्ने तर्कका साथ वामदेवलाई रोक्न खोजिएको छ ।

ओली इतरका समूह भने पार्टी सचिवालयको निर्णय कुनै हालतमा मान्नुपर्ने पक्षमा छन् । अध्यक्ष प्रचण्डले ओलीले सचिवालय निर्णय मान्नेमा आफू ढुक्क भएको बताउँदै आएका छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि निर्णय मान्नुपर्ने पक्षमा छन् । नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल पनि निर्णय मान्नुपर्ने पक्षमा छन् । विष्णु पौडेल मध्यमार्गमा छन् । उनी कुरा मिलाउन दुवै पक्षमा पुगिरहेका छन् । ईंश्वर पोखरेल गौतमलाई मनोनित गर्न नहुने पक्षमा छन् ।

ओली पक्षले वामदेव गौतमलाई राष्ट्रियसभामा जानबाट रोकेरै छाड्ने रणनीति बनाइसकेको छ । यसका लागि बलियो आधार तयार गर्न वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन खोजिएको छ । ओलीले नेपाललाई मृगौला प्रत्यारोपण अघि पटक पटक भेटिसकेका छन् । नेकपा एमालेको गत महाधिवेशनमा नेपाललाई गौतमले साथ छाडेका थिए । ओलीलाई साथ दिएकाले विजयी भए । तर, गौतमले ओलीबाट धोका पाएको गुनासो आफू निकटस्थसम्म गरेका छन् । बर्दियाको प्रतिनिधिसभा निर्वाचनमा आफूलाई ओली निकटस्थल अन्र्तघात गरेको गौतम पक्षले आरोप लगाएको थियो ।

नेकपाभित्रको ओली गौतम विवादबाट अन्य नेताहरुले पनि लाभ लिन खोजिरहेका छन् । यो द्धन्द्धका क्रममा गौतम मनोनित हुने नहुनेले राष्ट्रिय राजनीतिमा समेत असर पार्ने अवस्था बन्न सक्छ । वामदेव नयाँ रणनीतिका साथ तयारीमा छन् । उनले राष्ट्रियसभामा मनोनित गर्ने सचिवालय निर्णय ओलीले नमाने कडा कदम चाल्ने तयारी गरिरहेका छन् । यसकारण ओली अस्पतालबाट फर्किएपछि नेकपाभित्रको विवाद पेचिलो बन्दै जाने देखिएको छ । यसै हप्ता ओली डिस्चार्ज हुने भएकाले थाती राखिएको वामदेवको मुद्दा फेरि उचालिने अवस्था छ ।

Leave A Reply

Your email address will not be published.