आजदेखि १९ सांसदको कार्यकाल समाप्त, खतिवडाको भविष्य के भयो ?

0

काठमाण्डौं – राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल आजबाट समाप्त हुँदै छ । गोलाप्रथाबाट दुई बर्षे कार्यकाल कायम भएका सदस्यहरू आज अन्तिम बैठकमा सहभागी हुँदै छन् ।

विभिन्न कोटा र क्लस्टरबाट निर्वाचित तथा मनोनीत १९ जनाको कार्यकाल सकिन लागेको हो । कार्यकाल सकिनेमा सत्तारूढ नेकपा बाट ८, कांग्रेसबाट ७, राजपाका २ र समाजवादी पार्टीका एक सांसद रहेका छन् ।

गत माघ ९ गते भएको निर्वाचन बाट आएका १८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक जनाले भोलि सपथ ग्रहण गर्ने कार्यक्रम छ । भोलि शपथ लिनेमा सत्तारूढ नेकपाका १६ र राजपाका २ जना हुनेछन् । सरकारले सिफारिस गर्ने एकजना राष्ट्रपतिद्वारा मनोनीत व्यक्ति हुनेछन् ।

भोलि हुने शपथ समारोहमा सबैको नजर सरकारले सिफारिस गर्ने राष्ट्रपति बाट मनोनीत सांसद को हुन्छन् भन्नेमा छ । सरकारले सिफारिस गर्ने एकजनामा सत्तारूढ नेकपाको सचिवालयले उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री युवराज खतिवडाको पक्षमा छन् ।

यस्तोमा हिजोको मन्त्रीपरिषदको बैठकले गौतम र खतिवडा मध्य कसको नाम सिफारिस गर्‍यो अहिलेसम्म सार्वजनिक भएको छैन् । भोलिको शपथ ग्रहणले अर्थमन्त्री खतिवडाको भविष्य तय गर्नेछ ।

यदि हिजोको मन्त्रीपरिषदले खतिवडाको नाम सिफारिस नगरेको खण्डमा खतिवडा बढिमा ६ महिनासम्म मात्रै मन्त्री पदमा बहाल रहनेछन् ।

Leave A Reply

Your email address will not be published.