काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहायता सम्बन्धि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धि सम्झौता संसदको कार्यसूचीमा राख्दै निर्णयार्थ पेश गर्न सभामुख अग्निप्रसाद सापकोटालाई दवाव दिएको सार्वजनिक भएको छ ।
प्रधानमन्त्रीको दवावलाई बेवास्ता गर्दै सभामुख सापकोटाले भने सल्लाह गरेर मात्रै अगाडि बढ्ने जवाफ दिएको बुझिएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसी अध्ययन गर्नका लागि कार्यदल बनाएको र कार्यदलले प्रतिवेदन तयार गरिनसकेका कारण सभामुख सापकोटाले प्रस्ताव अगाडि बढाउन बेवास्ता गरेको प्रधानमन्त्रीको बुझाइ रहेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।
पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरेर एमसीसी अध्ययनका लागि बनाएको कार्यदल प्रती प्रधानमन्त्री ओली असन्तुष्ट छन । केहि दिनअघि मात्रै साना ९ वाम दलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले दुई बर्ष अगाडिको सम्झौताको अहिले आएर अध्ययन कार्यदल बनाउनुको कुनै तुक नभएको अभिव्यक्ति दिएका थिए ।
आफू नेतृत्वको सरकारको दुई बर्ष पूरा भएको अवसरमा गत शनिबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसी नेपालको विकास लागि आएको परियोजना भन्दै सभामुखले टेबल गर्ने बित्तिकै संसदबाट पारित हुने बताएका थिए । त्यसकारण पनि प्रधानमन्त्री ओली अध्ययन कार्यदलको प्रतिवेदन कुरेर बस्ने पक्षमा नरहेको स्पष्ट हुन्छ ।
एमसीसीबारेको राजनैतिक विवादमा ओली सन्तुष्ट छैनन् । सम्झौताप्रति राज्यको दायित्व र कुटनैतिक सम्बन्धको संवेदनशीलता बुझेर एमसीसीलाई संसदबाट छिटो अनुमोदन गर्न चाहान्छ्न । प्रधानमन्त्री ओली सकेसम्म पार्टीभित्र सर्वसम्मत गरेर जाने नभए नेपालको सम्झौताप्रतिको दायित्व बहन गर्न सरकारी निर्णय कार्यान्वयन गर्ने गरि अघि बढ्ने तयारीमा छन ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि एमसीसी पास गर्न सहमत छन । उनले आजै मात्र राष्ट्रिय हितमा हुने गरि एमसीसी पास गरिने सार्वजनिक अभिव्यक्ति दिएका थिए । नेपाल कम्युनिस्ट पार्टीको कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका थिए ।
सत्तारूढ नेकपा भित्र माधवकुमार नेपाल समूह एमसीसीको विपक्षमा रहेको बताइन्छ उनिहरूलाई पूर्व माओवादी समुहका केही प्रभावशाली नेताहरूको समेत साथ रहेको विश्वास गरिन्छ । सत्तारूढ नेकपाकै विवादका कारण एमसीसीमा अन्यौलता उत्पन्न भै रहेको छ ।