राप्रपामा एकीकरणको कुरा बिथोलियो, चुनाव चिन्हमा लफडा

0

काठमाण्डौं – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)वीचको पार्टी एकीकरणको चर्चा पुनः उठेको छ । दुबै राप्रपाका शीर्ष नेताहरूवीच बेलाबेला अनौपचारिक सम्वादहरू भइरहेका छन् ।

पार्टी एकीकरणका लागि दुबै पार्टीका नेताहरू सैद्धान्तिक रुपमा सहमत छन् । उनीहरूका वीच नेतृत्व कसले लिने भन्नेमा एकले अर्कालाई आशंका गर्दै आएको स्रोतको भनाइ छ ।

त्यति मात्रै होइन राप्रपाको चुनाव चिन्हका विषयमा पनि सहमति हुन सकेको छैन । कमल थापा नेतृत्वको राप्रपाका नेताहरूले चुनाव चिन्ह ‘गाई’लाई बनाउन दवाव दिँदै आएका छन् । पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा (संयुक्त)का नेताहरूले चुनाव चिन्ह ‘हलो’ राख्न दवाव दिने गरेका छन् । तर, दुबै पक्षले चुनाव चिन्हको विषय महाधिवेशन अगाडि नै शीर्ष नेतृत्वले मिलाउनुपर्ने पक्षमा लचकता देखाएका छन् ।

राप्रपा एकीकरण गर्ने विषयमा सैद्धान्तिकभन्दा पनि कसले नेतृत्व हत्याउने भन्नेमा नै केन्द्रित रहेको आरोप छ । हुन त एकीकरणपछि राप्रपाको नेतृत्व अर्थात अध्यक्षमा कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई बनाउने तयारी भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पनि दुई वटा अध्यक्ष राखिएको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)मा छ जना अध्यक्ष छन् । राप्रपावीच पार्टी एकीकरण भयो भने तीन जना अध्यक्ष हुनेछन् । पार्टी एकीकरणको चर्चा चलिरहेका बेला राप्रपा (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणा भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

राप्रपाका अध्यक्ष कमल थापा फागुन ४ गतेदेखि १८ गतेसम्म पार्टी संगठन सुदृढीकरण तथा बिस्तारको लागि देश दौडाहामा जाँदै छन् । सांगठनिक रुपमा कमल थापा नेतृत्वको राप्रपा पशुपति शम्शेर राणाको राप्रपा (संयुक्त)भन्दा बलियो रहेको चर्चा छ । कमल थापाले पार्टी एकीकरणका विषयमा त्यसलाई आधार बनाएर आफू हाबी हुन खोजेपछि राप्रपा (संयुक्त)का नेताहरू शसंकित बन्ने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.