को बन्ला सभामुख ? यस्तो छ ओली र प्रचण्डको योजना

0

काठमाण्डौं – निवर्तमान सभामुख कृष्णबहादुर महरा पदमुक्त भएसंगै खाली रहेको सभामुखमा कसलाई ल्याउने भनेर यतिबेला नेकपामा बहस सुरु भएको छ । विभिन्न नेताहरुको नाम समेत शिर्ष नेताहरुले लिईरहेका छन् । तर, कसलाई बनाउने यो जिम्मेवारी भने पार्टीका दुई नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमा सिमित छ ।

अध्यक्षद्वयबीच कार्यविभाजन र मन्त्री हेरफेरकै समय दुईजनाबीच सभामुखको बारेमा पनि लगभग सहमति भएको स्रोतको दावी छ तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आफ्ना पक्षका नेताहरुसँग कुरा गर्न बाँकी रहेको कारण’ त्यसलाई अन्तिम रुप दिन सकेको छैन । सोही अनुसार सभामुखमा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन पार्टीका अध्यक्षद्वय सकारात्मक भएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीले आफू अनुकूल सभामुख बनाउने अडान पार्टीमा लिएका थिए । तर तत्कालिन माओवादीको तर्फबाट सभामुख बनेको कारण सोही पक्षबाट पुनः बन्नुपर्ने अडान अध्यक्ष प्रचण्ड पक्षको थियो । संसद सचिवालयका महिला कर्मचारीलाई दुरव्यवहार गरेको आरोपमा सभामुख पदबाट मुक्त भएका कृष्णबहादुर महरा तत्कालिन माओवादीबाट सभामुख बनेका थिए ।

त्यही भएर तत्कालिन माओवादी पक्षका नेताहरुले सभामुखमा दावी गरिरहेका छन् । त्यसमा देव गुरुङ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, ओन्सारी घर्तिमगर लगायतले सभामुखका लागि दाबेदारी पेश गर्दै आएका छन् । प्रधानमन्त्री ओली सरकारको काम गर्न र गराउन आफूले चाहेको व्यक्ति सभामुख हुनुपर्ने अडानमा छन् ।

केही समय पहिला दुई अध्यक्षबीच भएको कुराकानीमा अध्यक्ष प्रचण्डले सुवास नेम्वाङ सभामुखका लागि तयार भए आफू त्यस विषयमा सोच्न सक्ने संकेत गरेपछि दुबै नेता नेम्वाङप्रति लचक भएका हुन् । तर नेम्वाङले एउटा सार्वजनिक कार्यक्रममा आफू सभामुख बन्न नचाहेको बताएका थिए । । नेम्वाङले भने यसबारेमा आफुलाई केही पनि थाहा नभएको र अहिले नै टिप्पणी गर्नु हतार हुने बताए । उनले शुक्रबार रातोपाटीसँग भने,‘अहिले टिप्पणी गर्दा अपरिपक्वता हुन्छ ।’

तर यही बीचमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले नेम्वाङलाई बोलाएर सभामुख बन्ने नबन्ने भनि अभिव्यक्ति नदिन सुझाएका थिए । बालुवाटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले भनेका थिए, ‘तपाई चुप लगाएर बस्नुस् हामी सल्लाह गर्दैछौं ।’ त्यो बेलादेखि नेम्वाङले सभामुखको बारेमा सार्वजनिक रुपमा कुनै प्रतिकृया दिएका छैनन् ।

Leave A Reply

Your email address will not be published.