संविधानको मस्यौदा अनधिकृतरुपमा बिक्री

0

काठमाडौँ, २८ असार । संविधानसभाले निःशुल्क प्रचारप्रसार र राय सुझावका लागि वितरण गरिरहेको संविधानको पहिलो मस्यौदा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अनधिकृत बिक्री भएको पाइएको छ । काठमाडौँको पत्रपत्रिका बिक्रीवितरण हुने मुख्य केन्द्र नयाँ सडकस्थित भूगोलपार्क र त्यहाँबाट उपत्यकाका विभिन्न पुस्तक तथा स्टेसनरी पसलमा गेसपेपर र गाइडजस्तै अनधिकृतरुपमा मस्यौदा बिक्री भइरहेको पाइएको हो । रु एक सय मूल्य राखी बिक्री भइरहेको मस्यौदाको पुस्तिकाको उत्पादकमा संविधानसभाको मस्यौदा समितिकै नाम राखिएको छ भने अन्य कुनै प्रकाशक वा मुद्रकको नाम ठेगाना दिइएको छैन ।
प्रदर्शनीमार्गस्थित एक पुस्तक पसलमा मस्यौदा बिक्री भइरहेको राससले पाएपछि ती पुस्तक पसलका सञ्चालकले यसमा आफ्नो दोष नभई भूगोलपार्कबाट अन्य पुस्तक पसलले लगेकाले आफूले पनि ल्याएको जनाए ।
संविधानसभा व्यवस्थापिका–संसद्का सहप्रवक्ता सुदर्शन कुइँकेलले मस्यौदा पुस्तिका बिक्री गर्ने व्यवस्था नगरिएको र बिक्री भएको भन्नेबारे हालसम्म जानकारी नआएको बताउनुभयो । संविधानसभाले जनताको राय सुझव लिई प्रतिवेदन तयारीका लागि नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिलाई जिम्मा दिएपछि समितिले कार्ययोजना बनाई मस्यौदाको प्रचारप्रसार गरिरहेको छ ।
समितिले संविधानसभाको यही असार २४ गतेको बैठकमा पेस गरेको कार्ययोजनामा नेपालको संविधान, २०७२ (प्रारम्भिक मस्यौदा) विधेयकका रुपमा मुद्रण विभागबाट नेपाल राजपत्रमा सो मस्यौदा पाँच हजारप्रति प्रकाशन भएको जनाएको थियो भने संविभानसभाले पनि अलग्गै करिब एक लाख प्रति मस्यौदाको पुस्तिका प्रकाशन गरेको थियो ।
गोरखापत्र, रेडियो नेपाललगायत विभिन्न सञ्चार माध्यममा पूर्ण अंश प्रकाशन तथा प्रसार गरिएको छ । यही असार २४ गतेदेखि साउन ७ गतेसम्म सुझाव सङ्कलनका क्रममा प्रत्येक जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चालन हुने छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको समन्वय र सहकार्यमा जिल्ला विकास समिति, नगरपालिका र गाविसमा निःशुल्क मस्यौदा उपलब्ध गराइने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.