भारतीय हस्तक्षेपविरुद्ध गाउँगाउँमा विरोध प्रदर्शन

0

काठमाण्डौं – नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतले गरेको सीमा अतिक्रमण र भारतीय हस्तक्षेपविरुद्ध गाउँगाउँसम्म विरोध प्रदर्शन जारी राखेका छन् ।

हस्तक्षेपको विरोधमा धनगढीमा मार्चपाससहित दार्जुलासम्म चलाइने ‘कालापानी बचाऊ अभियान’का सहभागीहरुले सोमबार डोटीमा विरोध सभा गरेका छन् ।

जनमोर्चाको सुदूरपश्चिम प्रदेश कमिटीले मंसिर ११ मा कैलालीको धनगढीबाट सुरु गरेको अभियान डडेल्धुरा, बैतडी, दार्चुला हुँदै डोटी पुगेको छ ।

मोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश ईचार्ज मनोज भट्टले नेतृत्व गरेको अभियान अन्तरगत कैलालीको अत्तरिया, डडेल्धुरा, बैतडीको खोड्पे, पाटन, गोठालापानी र सतबाँझ, दार्चुलाको गोकुले र खलङ्गामा सभाहरु गर्दै डोटी पुगेको छ । आइतबार डडेल्धुराबाट आएको मोटरसाइकल ¥याली पिपल्ला बजारमा सभामा परिणत भएको छ ।

विरोध सभालाई पार्टीका केन्द्रीय सदस्य मनोज भट्टले सम्बोधन गरेका छन् । देशको माटो फिर्ता ल्याउन ओली सरकारलाई दबाब दिने उद्देश्यले अभियान चलाएको नेताहरुको भनाई थियो । अभियानको समापन राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा समापन गर्ने कार्यक्रम छ ।

त्यस्तै विप्लव नेतृत्वको नेकपाले भारतीय साम्राज्यवादले नेपाली भूभाग मिचेको विरोधमा कालिकोटमा सोमबार जुलुससहित प्रदर्शन गरेको छ । भारतीय हस्तक्षेपका विरुद्धमा पार्टीले घोषणा गरेको दोस्रो चरणका घोषित संघषका कार्यक्रमअन्तर्गत विप्लव नेकपाले कालिकोटका गाउँगाउँमा स्थानीयसहितको सहभागितामा जुलुससहित प्रदर्शन गरेको हो ।

जुलुसपछि आयोजित विरोधसभा सामना साँस्कृतिक परिवारका कलाकारले हस्तक्षेपविरोधी गीत संगीतमा जोडदार प्रस्तुति दिएका थिए ।

भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेपछि यो पार्टी संघर्षमा उत्रिएको छ । शनिबार पार्टी प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी विरोधमा दोस्रो चरणको संघर्ष कार्यक्रम सार्वजनिक गरेका थिए । यसै कार्यक्रमअन्तर्गत भारतको नयाँ जलाउने, भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने, अन्तरक्रिया चलाउने ज्ञापनपत्र बुझाउने तय गरिएको छ ।

उसले यसअघि पहिलो चरणको संघर्षका कार्यक्रममा भारतीय नयाँ नक्सा जलाउने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बीर जलाउनुका साथै पुत्ला दहन गरिसकेको छ । अतिक्रमण भूमि फिर्ता नआएसम्म संघर्ष जारी रहने संघर्षरत पार्टीहरुले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.