‘अंगीकृत’ नागरिकताधारी दुगड उद्याेग राज्यमन्त्रीमा नियुक्त

0

काठमाण्डौं – केपी ओली नेतृत्वको सरकारले अंगीकृत नागरिकता भएका मोतीलाल दुगडलाई राज्यमन्त्रीमा नियुक्त गरेको छ ।

बुधबार गरेको मन्त्रिमण्डल हेरफेरमा दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा नियुक्त गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा भने प्रचण्ड पक्षका लेखराज भट्ट नियुक्त भएका छन् ।

दुगड प्रधानमन्त्री ओलीकै सिफारिसमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट मोरङबाट प्रतिनिधिसभाका लागि समानुपातिक सांसद बनेका थिए ।

दुगड नेपालमा अंगीकृत नागरिक हुन् । उनी भारतमा जन्मिएका थिए । उनी नेपालमा ‘घरानिया व्यापारिक समूह’ दुगड ग्रुपमा आवद्ध छन् ।
दुगड पहिलो संविधानसभा निर्वाचन २०६४ मा नेपाल सद्भावना आनन्दिदेवीबाट समानुपातिक सभासद भएका थिए । त्यसपछि दोस्रो पटकको संविधानसभा २०७० मा भने उनले आफ्नै नेतृत्वमा नव नेपाल पार्टी खोलेर परेवा चिन्हा लिएर निवर्चानमा भाग लिए, तर उनी सफल हुन सकेनन् । त्योबेला उनका पार्टीबाट तराई क्षेत्रकेन्द्रित २२ उम्मेद्वार उठाउँदा अत्यन्तै झिनो मत ल्याएका थिए ।

त्यसबाट पार्टी असफल भएपछि दुगडले पार्टीलाई एमाले विलय गराएका थिए । विलयपछि उनलाई २०७४ को संसद चुनावपछि एमालेको भाग परेको समानुपातिक सूचीमा नाम चढाउन सफल भए । पार्टी अत्यक्ष ओलीकै निगाहमा उनी सांसद बने ।

पार्टीमा जीवनभर योगदान र त्याग गरेका थुप्रैलाई पछाडि पारेर ‘लगानी’गरेर समानुपातिक कोटामा सांसद बनेको भन्दै तत्कालीन एमालेभित्र भाँडभैलोकै स्थिति उत्पन्न भएको थियो । जसरी नेपाली कांग्रेसले २०७४ को संसद चुनावमा रामेछापबाट प्रतिनिधि सभा उम्मेद्वार टिकट ठेकेदार कान्छाराम तामाङलाई दिँदा नेपाली कांग्रेसभित्र हंगामा मच्चिएको थियो ।

तर ओलीको धाप प्राप्त भएकैले उनले पार्टीभित्रको आलोचनालाई सहजै पचाए । व्यापारीलाई सांसद बनाएर पार्टीलाई व्यापारिक फोरम बनाउन खोजिएको जस्ता आरोपलाई ओलीले पनि वास्तै गरेनन् । पार्टी विलय गराएर आएका दुगडलाई ओली नेतृत्वकै सरकारमा स्थान दिइनुलाई पार्टीले भने अध्ययनको विषय बनाउन शुर गरेको सत्तारुढ नेकपामा एक केन्द्रीय नेताले बताए ।

Leave A Reply

Your email address will not be published.