बुटवल नै स्थायी राजधानी कति संभव ?

0

काठमाण्डौं – प्रदेश १, २, ३ र ५ को नाम र स्थायी राजधानी टुंगो लगाउन बाँकी रहेको बेला प्रदेश ५ को स्थायी राजधानीबारे बहस व्यापक चलेको छ ।


संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले तत्कालीन सभामुख कृष्णबहादुर महरा मुद्दा पुर्पक्षका लागि कार्तिक १८ मा जेल परेपछि यताका दिनमा प्रदेश नं. ५ को राजधानीबारे बहस व्यापक चल्ने थालेको यो पहिलो हो ।

प्रदेश नं. ५ मा १२ वटा जिल्ला समेटिएको छ । महरा दाङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका सदस्य थिए । जेल परेसँगै उनको सांसद निलम्बनमा परेको छ । महरा केन्द्रीय प्रतिनिधि सभा सभामुख रहेकै बेला दाङमै प्रदेशको स्थायी राजधानी बनाउनेबारे बलियो लविङ गर्दै आएका थिए ।

उनी सत्तारुढ नेकपाभित्र प्रभावशाली नेताको स्तर कायम राख्थे । त्यसैकारण प्रदेशमा पूर्वएमाले पक्षका प्रदेश सांसदको बाहुल्यता रहेपनि नेपाली कांग्रेसँगको हिमचिम महराकै बाक्लो रहेकोले कांग्रेसलाई कन्भिन्स गराउन उनी सफल हुनेमा विश्वस्त थिए ।

प्रदेशका जनस्तरबाट पनि स्थायी राजधानी बुटवल नभई दाङलाई बनाउनुपर्ने बाक्लो मत छ । यहाँका १२ जिल्लामध्ये रोल्पा, पूर्वीरुकुम, प्यूठान, बाग्लुङको पश्चिम क्षेत्र, बर्दिया, बाँके, अर्घाखाँचीलाई दाङ नजिक पर्छ । सबै जिल्लाको बिचको क्षेत्र पनि दाङ नै पर्छ ।
गुल्मी, नवलपरासी पश्चिम, कपिलवस्तु, पाल्पा र रुपन्देहीलाई मात्र बुटवल नजिक क्षेत्र हो । बाँकी जिल्लाकालाई गाडीमै आउँदा पनि दुई दिन लाग्छ । त्यसैले अस्थायी राजधानी रहेको बुटवललाई हटाएर स्थायी राजधानी दाङ लैजानुपर्ने प्रदेश सभामा बहुमत छन् ।

तर सत्तारुढ नेकपाका महासचिव समेत रहेका केन्द्रीय प्रतिनिधि सभाका सांसद विष्णुप्रसाद पौडेल बुटवल क्षेत्र भएको रुपेन्देहीको क्षेत्र नं. २ बाट निर्वाचित छन् । उनले दुई दिन अघि बुधबार दिउँसो रुपन्देहीको तिलोत्तमामा पुगेर एक कार्यक्रमबाटै बिना प्रसंग प्रदेश नं. ५ को स्थायी राजधानी पनि बुटवल नै कायम हुने, सर्ने कुराको कल्पनासम्म नगर्न आफ्ना मतदातालाई आश्वसन दिएका छन् ।

पौडेलको अभिव्यक्तिपछि प्रदेश सांसदमा मात्र नभई १२ वटै जिल्लाका नागरिक तरंगित बनेका छन् । टबुटवल पायकका जिल्लामा आश्वस्त बनाएको तरंग त बाँकी धेरै जिल्लामा आक्रोशको तरंग फैलिएको छ । अभिव्यक्तिपछि रोल्पा, दाङ, बाँके, बर्दियालगायत क्षेत्रका प्रदेश सांसद मुुर्मुरिन थालेका छन् । उनीहरु बुटवललाई कुनैपनि हालतमा बन्न नदिने लविङमा लागिसकेका छन् ।

कैदी महराको क्षेत्र दाङ भएपनि उनी रोल्पाका लागि पनि प्रभावशाली मानिन्थे । तर जेल जीवनमाा सीमित भएसँगै दाङलाई प्रदेशको स्थायी राजधानी बनाउने एजेण्डा र पहलको कमाण्ड गर्ने पात्रको खोजी शुरु भएको छ । यो प्रदेशमा सांसद संख्या ८७ छन् । स्थायी राजधानीबारे सहमति जुट्न नसके आवश्यक दुईतिहाईका लागि ५८ मत भएपुग्छ । सत्तारुढ नेकपाकै ६१ मत छन् । तर दाङलाई स्थायी राजधानी बनाउने पक्षमा दुई तिहाईभन्दा बढी मत देखिएको छ ।

महराजस्तै केन्द्रीय संसदमा रहेका पौडेल प्रदेशमा आएर खेल्न खोजेको भन्दै प्रश्न उठाउन थालेका छन् । यसअघि महरामाथि पनि यस्तै प्रश्न उठाउने गर्थे । प्रदेशको नाममा पनि त्यस्तै लफडा छ । सूत्रका अनुसार महरा जेल परेपछि बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउने विषयमा महासचिव पौडेलको चलखेल तीव्र भएको हो ।

प्रचण्डनिकट महराले पार्टी अध्यक्ष प्रचण्डमार्फत पौडेललाई अनावश्यक गतिविधि गर्नबाट रोक्दै आएकोमा त्यो बाटोमा धक्का लागेपछि पौडेल हौसिन पुगेको सूत्रको दाबी छ ।

यदि पार्टीले ह्वीप जारी नगरेको खण्डमा स्वतन्त्रपूर्वक मत विभाजन गरिएमा स्थायी राजधानी दाङ हुनेमा कुनै कठिनाई देखिँदैन । तर ह्वीपको भरमा टुवललाई बनाइए कालान्तरमा पार्टीमा विभाजनको रेखा कोरिने र आगामी चुनावी एजेण्डा नै बन्ने संभावनालाई नकार्न सकिन्न । प्रदेश नं. ३ पनि यस्तै स्थितिबाट गुज्रिरहेको छ ।

Leave A Reply

Your email address will not be published.