लिपुलेकबारे भारतसँग वान टू वान वार्ता गर्न प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिको निर्देशन

0

काठमाण्डौं – संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतद्वारा नेपाली भूमि अतिक्रमणबारे भारतीय प्रधानमन्त्रीसँग वान टू वान वार्ता गर्न निर्देशन दिएको छ ।

साथै भारतले आफ्नो सीमाभित्र राखेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको बैठक सोमबार सिंहदरबारमा बसेको थियो ।

शैक्षिक सामग्रीहरूमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम निर्माण गर्न र लिपुलेक, कालापानीलगायत अन्य सीमा क्षेत्रमा नेपालका तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको समितिका एक सदस्यले बताए ।

समितिको बैठकमा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड, सरकारका गृह मन्त्री रामबहादुर थापा ‘बादल’ लगायत मन्त्रीहरु उपस्थित थिए । बैठकमा गृहमन्त्री बादलले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा केन्द्रित गर्ने र ३५ किलोमिटरबाट छोट्याएर १० किलोमिटरको दूरीमा सीमा सुरक्षा पोष्ट राख्ने प्रतिवद्धता जनाएका थिए ।

लिपुलेक, कालापानी लगायत देशैभर भारत पक्षबाट भएको सम्पूर्ण सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्रीसँग वान टू वान कुराकानी गर्न प्रधानमन्त्री ओलीलाई निर्देशन दिने निर्णय भएको समितिकी सदस्य सांसद डा. डिला संग्रौलाले बताइन् । समितिका अध्यक्ष सा‌ंसद शशी श्रेष्ठ हुन् ।

Leave A Reply

Your email address will not be published.