ठमेलमा बालुवाटारको जग्गा काण्ड भुलाउने अर्को काण्ड, योगेश भट्टराई पनि जोडिए

0

काठमाण्डौं – प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास रहेको बालुवाटारस्थित ललितानिवासको १ सय १४ रोपनी सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारले ललिता निवासको जग्गा गैरकानूनी रुपमा व्यक्तिका नाममा दर्ता गर्नेहरूबिरुद्ध संभवतः केही दिनभित्र विशेष अदालतमा मुद्दा दायर गर्दैछ ।

हुन त अहिलेका पर्यटनमन्त्री योगेश भट्टराईले छायाँ सेन्टरको नेकपा (एमाले)को सांसद एवम् सचिवको हैसीयतले उद्घाटन गरेका थिए । भट्टराई अहिले मन्त्री छन् । त्यस बेला भट्टराईको विरोध भएको थियो । स्रोतका अनुसार भट्टराईलाई छायाँ सेन्टर उद्घाटन गरिदिए वापत मोटो रकम सन्चालकहरूले दिएको चर्चामा थियो । नेपाली कांग्रेसका नेता भीमसेनदाश प्रधानले छायाँ सेन्टर बनाएर गुठीको जग्गा मासेकोमा विरोध गरिरहेका छन् ।

तर, ललिता निवासको जग्गा छानबिन गरिरहेको अख्तियारले नेपालकै प्रमुख पर्यटन केन्द्रको रूपमा सुपरिचित ठमेलस्थित ऐतिहासिक सम्पदा कमलपोखरीको जग्गा गैरकानूनी ढंगले हडपेर त्यहाँ निर्माण गरिएको १७ तले छायाँ सेन्टरको बिषयमा भने अहिलेसम्म मौनता साँधिरहेको छ ।

छायाँ सेन्टर भत्काएर पुनः पोखरी कायम गर्न स्थानीयले माग गरिरहेका छन् । तर, अख्तियारले उक्त मागको सुनुवाई गरेको छैन । स्थानीयले छायाँ सेन्टरलाई पुनः पोखरी कायम गर्न माग गरेका मात्र होइन, सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेका छन् ।

तर, अदालतले समेत पटक पटक पेशी सार्ने काम गर्दै आएको छ । छायाँ सेन्टरका सञ्चालक इन्भेष्टमेन्ट बैकका सञ्चालक पृथ्वीबहादुर पाँडे, पर्यटन व्यवसायी सुमन पाँडे, सहृद घिमिरेलगायत हुन् । स्थानीयले पूजा गर्ने पोखरी मासेको जिकिर गर्दै काठमाडौं महानगरपालिका, गुठी संस्थान, छायाँ सेन्टरलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

केशरशमशेर राणा विश्व भ्रमण सम्पन्न गरी फर्किएपछि केशरमहलको पश्चिमतर्फ रहेको कमलपोखरीलाई आफ्नो दरबारभित्र राख्ने गरी पर्खाल लगाए । पोखरी उपयोग गरेबापत निश्चित रकम गुठीलाई तिर्ने सर्तमा उनले पर्खाल लगाए । पोखरी, बगैचा, बाँसघारीमा मोही हुँदैन ।

तर, केशरशमशेरको मृत्युपछि उनका छोरा केयुरशमशेरले आफूलाई मोही र गुठी संस्थानलाई जग्गाधनी कायम गरी मोही प्रमाणपत्र लिए । जबकि त्यो पोखरीसँग गुठी संस्थानको कुनै लेनादेना थिएन । पञ्चायती व्यवस्थामै शक्तिको दुरुपयोग गरी गुठी संस्थानको सहमतिमा केयृुरशमशेरकी श्रीमतीले सो पोखरीलाई मोहीबाट रैकरमा परिणत गरी जग्गाधनी बनिन् । कानूनतः पोखरीमा मोही हुँदैन ।

सो पोखरीसँग सम्बन्ध नै नभएको गुठी संस्थानलाई जग्गाधनी मानी ‘काले काले मिली खाऔं भाले’ भन्ने उखान चरितार्थ गर्दै सहस्रबाहु भगवानको पोखरी जसको वास्तविक हकदार भगवानबहालका प्रधानहरु हुन् लाई कब्जा गरी केयुरशमशेरका परिवारले बिक्री गरी खाए ।

ठमेलमा ऐतिहासिक, धार्मिक, संस्कृतिक तथा पुरातात्विक महत्व रहेको हजारौं साल पुरानो पोखरीमा मोही कायम गरी रैतानीमा परिर्वतन गरी बिक्री गरेर छायाँ सेन्टर बनाइएपछि नै स्थानीय आन्दोलित छन् । तर, शक्तिको आडमा पृथ्वीबहादुर पाँडे, सुमन पाँडेहरुले उक्त जग्गा आफ्नो नाममा किनेर प्रहरी प्रशासनको दुरुपयोग गरी राज्यको गौरबमय सम्पदा मासेर हाल निर्माण छायाँ सेन्टर निर्माण गरेका छन् ।

छायाँ सेन्टर भएको ठाउँ सार्वजनिक पोखरी रहेको यस बिषयका अनुसन्धानकर्ता तथा सम्पदा संरक्षक अभियन्ता भागवतनरसिंह प्रधान बताउँछन् । अभियन्ता प्रधान भन्छन्–सम्पदा र संस्कृति मास्नमा राजनीतिक नेतृत्व नै लागिपरेको छ । हाम्रो संस्कृतिमाथि चरणबद्ध रूपमा प्रहार भइरहेको छ । मासिएको कमलपोखरी र हाम्रो संस्कृति हामीलाई फिर्ता चाहिन्छ ।

हुन त संयोग नै हुनसक्छ, छायाँ सेन्टरनिर्माण भएको स्थानको पोखरीको जग्गा उपयोग गर्नेहरु कसैलाई पनि शुभ भएको देखिदैन । कमलपोखरीमा नागको बास रहने गरेको किंवदन्ती छ । विश्व भ्रमण गर्ने केशरशमशेरले यो पोखरी आफ्नो घर कम्पाउण्डमा हालेपछि उनको असामयिक निधन भयो । केशरशमशेरका छोरा केयुरशमशेरको पनि असामयिक मुत्यु हुन पुग्यो । नाति गोरखशमशेर राणा पनि गम्भीर दुर्घटनामा परे । पत्नीवियोग सहनुपर्‍यो । जीवन अस्तब्यस्त भएको देखिन्छ ।

यो जग्गामा घर बनाउन सुरु गरेपछि नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि समस्या सृजना भएको छ । अध्यक्ष पृथ्वीबहादुर पाँडे पनि अस्वस्थ अवस्थाबाटै गुज्रिरहेका छन् । छायाँ सेन्टरका अर्का लगानीकर्ता सुहृद घिमिरे जो ललिता निवासको जग्गाधकाण्डदेखि विभिन्न काण्डमा मुछिएर नेपाल छाड्ने मनस्थितिमा पुगेका छन् ।

सबैभन्दा गाँठी कुरा कमलपोखरी मासेर बनाएको कक्प्लेक्सको वातावरण नै राम्रो नभएकाले ग्राहकको चहलपहल सोचेअनुसार हुन सकेको छैन ।

यूनाइटेड पोस्ट साप्ताहिकबाट साभार

Leave A Reply

Your email address will not be published.