भारतले बुझ्ने भाषामा विज्ञप्ति निकाल्न परराष्ट्रलाई आग्रह

0

काठमाण्डौं – भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा मिचेर नयाँ नक्सा सार्वजनिक गरेको विषयमा देशैभर विरोध प्रदर्शन चर्कँदै गएपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले हिजो बुधबार निकालेको प्रेस विज्ञप्तिमाथि प्रश्न उठेको छ ।

विज्ञप्तिको भाषा ढुलमुले र निरीह रहेको भन्दै प्रश्न उठाइएको हो । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको उल्लेखित भू-भाग गाभेर भूमि अतिक्रमण गरेको विषयले देशै तातिरहेको बेला जारी विज्ञप्तिमा जारी गर्नेको नाम नै उल्लेख नगरी दस्तखत मात्र देखिएपछि सर्वसाधारणले समेत प्रश्न उठाएका हुन् ।

सोही विषयलाई लिएर बिहिबार ईन्जिनियर दीपेन्द्र कँडेलले काठमाडौंमा एक पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयको विज्ञप्ति निरीह रहेको र त्यसले भारतीय सरकारप्रति नभई आफ्नो भूमिको रक्षाको लागि आवाज उठाइरहेकाहरुको आवाज मत्थर पार्न निकालिएको जस्तो मात्र भएको कँडेलले पत्रकार सम्मेलनमा बताए ।

विज्ञप्ति नेपाली भाषामा भएकोले अतिक्रमित नेपालको आवाजबारे भारतीय विस्तारवादी शासक वर्गले खेल्न सक्ने भएकोले विश्वले नै बुझ्ने गरी अंग्रेजी भाषामा विज्ञप्ति निकाल्न उनले परराष्ट्र मन्त्रालयसँग माग गरे । बुधबारको विज्ञप्ति अधुरो र अपुरो भएको भन्दै उनले सरकरको चर्को आलोचना गरे ।

ई. कँडेलले आफ्नो नामबाट एउटा पर्चा जारी गर्दै नेपालमाथिको हस्तक्षेप बन्द गरी अतिक्रमित फिर्ता गरेर देश फर्कन आग्रह गरेका छन् । नेपाल–भारतबीच उत्पन्न सीमा विवादलाई सल्ट्याउन संयुक्त राष्ट्र संघको ढोकासमेत ढक्ढक्याउनुपर्ने आवश्यकता बन्दै गएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.