उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता गरिदै

0

काठमाण्डौं – निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ३७ जिल्लामा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि तयारी पूरा भएको बताएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य – १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुनेछ ।

निर्वाचनमा ३७ जिल्लामा गरी कुल ४ लाख ५४ हजार ११४ जना मतदाता कायम गरिएको र उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि मतदाता शिक्षा कार्यक्रम ५ देखि ११ मंसिरसम्म सञ्चालन हुनेछ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको तयारी छ ।

स्थानीय तहका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता भने २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म हुनेछ । उपनिर्वाचनका लागि १४ मंसिरमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन भन्दै आयोगले ८ मंसिरबाटै आचारसंहिता लागू गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.