कालापानी र लिपुलेक भारतले हडपेको विरोधमा काठमाडौंमा प्रदर्शन हुँदै

0

काठमाण्डौं – भारतको सरकारले नेपालको दार्चुला जिल्लाको कालापानी र लिपुलेक–लिम्पियाधुरा आफ्नो नयाँ नक्सामा राखेर सार्वजनिक गरेको विषयलाई लिएर देशैभरबाट भारतीय सरकारको विरोध शुरु भएको छ ।

भारत सरकारले केही हप्ताअघि कश्मिरलाई आफ्नो राष्ट्रमा गाभेको घोषणापछि नयाँ नक्सा हालै सार्वजनिक गरेको थियो । सो नक्सामा नेपालको भूभागसमेत समेटिएको पाइएपछि नेपालीहरु भारत सरकारको रवैयाविरुद्ध एकजुट हुँदैछन् ।

सोही विषयलाई लिएर मंगलबार मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिरकारी माओवादी), कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले भारत सरकारको कदमको घोरविरोध र निन्दा गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

यसैलाई लिएर आज नेकपा (क्रान्तिकारी माओवादी)निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले बुधबार दिउँसो काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गर्दैछ । प्रदर्शनपछि विरोधसभा आयोजना गरिने मोर्चाले जनाएको छ ।

पार्टीका महासचिव वैद्यले मंगलबार जारी प्रेस वक्तव्यमा भारत सरकारले नेपालकोा भूमागलाई आफ्नो देशको नक्साभित्र राखेर नेपालको स्वाधीनता र सार्वभौमिकतामाथि नांगो हस्तक्षेप गरेको बताएका छन् ।

‘भारत सरकारद्वारा हालै सार्वजनिक गरिएको नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भूभागलाई भारतमा गाभिएको छ । यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमण हो’ जारी प्रेस वक्तव्यमार्फत कदम शब्दमा भत्सर्ना गरिएको छ ।

नक्सा घटनाबारे नेपाल सरकारले तत्काल कुटनीतिक पहल गरेर नेपालको भूभागमा हस्तक्षेप खारेज गर्न भारत सरकारसँग वार्ता गर्न मा गरिएको छ । साथै पार्टीले भारत सरकारको हस्तक्षेपकारी कदमको विरोध सशक्त बनाउने र यसमा साथ दिने सम्पूर्ण देशभक्त नेपालीसँग महासचिव वैद्यले अपिल गरेका छन् ।

राप्रपा अध्यक्ष कमला थापाले पनि मंगलबारै भारत सरकारले नेपालको भूभाग कब्जा गरेर आफ्नो नक्सामा समेटेको भन्दै भत्सर्ना गरेका छन् । यसबारे सरकारले ध्यानाकर्षण समेत उनले गराएका छन् ।

त्यस्तै भारत सरकारको कदमको विरोधमा बुधबार दिउँसो ४ बजे ‘नेपालका लागि नेपाली’ समूहले पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्र्दैछ । प्रदर्शन जुटन उसले देशभक्त शक्तिहरुसँग अपिल गरेको छ ।

कालापानी, लिपुलेक–लिम्पियाधुरा क्षेत्र नेपाल – भारत – चीनको त्रिदेशीय नेपाली सीमाना भूभाग हो । उच्च पहाड र चट्टानी क्षेत्र भएकोले मानवबस्ती कमै मात्रामा रहेको छ ।

Leave A Reply

Your email address will not be published.