पहिलो र दोस्रो चरणको जागरणपछि यस्तो बन्दै छ अब कांग्रेसको योजना

0

काठमाण्डौं – नेपाली कांग्रेसले पहिलो र दोस्रो चरणको राष्ट्रिय जागरण अभियानबाट पार्टीको संगठन राम्रो बनेको ठहर गरेको छ । गत मंगलबारदेखि दोस्रो चरणको कार्यक्रम पनि सम्पन्न भएको छ । नेपाली कांग्रेसले तेस्रो चरणमा विक्रेन्द्रित कार्यक्रम गर्ने तयारी गरेको छ ।पहिलो र दोस्रो चरणको कार्यक्रमबाट उत्साहित भएको नेपाली कांग्रेसले पार्टीको नीति र सिद्धान्तका बारेमा जनतालाई थोरै भएपनि बुझाउन सकिएको निस्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसले आफूले जितेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिँदै छ । त्यति मात्रै होइन उनीहरूसँग कांग्रेसको संगठन तथा सेवाग्राहीसँग कसरी व्यवहार गर्ने भन्नेबारेमा प्रशिक्षण दिइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई असोजको २८ गते प्रशिक्षण दिइनेछ ।

प्रशिक्षणका लागि धमाधम केन्द्रीय कार्यालयले सानेपाले तयारी शुरू गरेको छ ।नेपाली कांग्रेसले आफूले जितेका गाउँपालिकामा सेवाग्राहीलाई छिटो छरितो तरिकाले सेवा दिनेदेखि जथाभावी कर उठाउने कार्यलाई नियन्त्रण गर्नेछ । कम्युनिस्टहरूले जितेका गाउँपालिकामा गुनासाहरू आएपछि नेपाली कांग्रेसले आफ्ना अध्यक्ष र उपाध्यक्षहरूलाई प्रशिक्षण दिन थालेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले अबको राष्ट्रिय जागरण अभियानलाई गाउँपालिका र नगरपालिकामा केन्द्रित गर्ने भएको छ । ती सबै गाउँपालिका र नगरपालिकाहरूमा केन्द्रीय प्रतिनिधिहरू पठाइने नेपाली कांग्रेसका प्रवक्ता शर्माले बताए । कांग्रेसले मसिनो गरेर आफूलाई गाउँका कार्यकर्ताको घरदैलोमा पुर्‍याउने गरेर कार्यक्रम बनाउनेछ ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले संविधानलाई अपब्याख्या गरेर संविधान विपरितका क्रियाकलापहरू गर्न थालेको भन्दै भण्डाफोरको अभियान पनि चलाएको छ ।

यो अभियान कांग्रेसका लागि फाइदाजनक भएको नेताहरूले बताएका छन् । नेपाली कांग्रेसले अभियान चलाउँदै गर्दा अराजक नेता तथा कार्यकर्ताहरूलाई पनि कारबाही गर्नुपर्ने माग उठेको छ । उत्सवका रुपमा मनाउनुपर्ने अभियानको केही भ्रातृसंस्थाका नेताहरूले विरोध समेत गरेका थिए । कांग्रेसका कार्यक्रमहरूलाई सहयोग गर्नुपर्ने ठाउँमा विरोध गर्ने परम्पराको अन्त्य गर्न पनि माग उठेको छ ।

नेकपाले दुःख दिएका जनतालाई कांग्रेसले संरक्षण गर्छः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खड्गप्रसाद ओली नेतृत्वको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारसँग असन्तुष्ट भएका व्यक्तिलाई कांग्रेसले आकर्षित गर्नुपर्ने बताएका छन् ।

भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘दुईतिहाइको बलियो कम्युनिस्ट सरकार जनताको हितमा काम गर्न नसकेकाले धेरै जनता रुष्ट भएका छन्, ती रुष्ट जनतालाई कांग्रेसले आकर्षित गर्न सक्नुपर्दछ ।’

वरिष्ठ नेता पौडेलले अहिलेको समयमा कांग्रेसका नेता तथा कार्यकर्ता अल्छि भएर बस्न नहुने बताउँदै संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले मात्र देशको विकास गर्न सक्ने बताए । उनले कम्युनिष्ट पार्टीमा सिद्धान्तको टुङ्गो नभएकाले ‘सी’ पथको छलफलमा लागेको आरोप लगाए ।पौडेलले सिद्धान्तको टुंगो नभएका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भएको बताएका छन् ।

वरिष्ठ नेता पौडेलले भने, ‘राज्य सञ्चालन सिद्धान्तका आधारमा हुन्छ तर कम्युनिष्टले सिद्धान्त नै अझैसम्म टुंगो लगाउन सकेका छैनन् । जसका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भयो ।’नेता पौडेलले कम्युनिष्टहरूले झुटा आश्वासन बाँडेर एकपटक जनतालाई झुक्याइसकेको भन्दै अब कम्युनिष्टको लहैलहैमा लागेर जनता फेरी नझुक्किने बताए ।

उनले भने, ‘जनताले र मुलुकले भर गर्न सक्ने कांग्रेस बनाउन हामी लागेका छौं । हामी त्यो कांग्रेस बनाउछौं ।’

Leave A Reply

Your email address will not be published.